LISTEN LIVE RADIO

पत्रकार महासंघकाे निर्वाचनमा ६० बढी जिल्लाको गणना सकिँदा पोख्रेलकाे प्यानललाई अग्रता



पत्रकार महासंघकाे निर्वाचनमा ६० बढी जिल्लाको गणना सकिँदा पोख्रेलकाे प्यानललाई अग्रता

काठमाण्डाै २७ चैत्र । नेपाल पत्रकार महासंघकाे नयाँ नेतृत्वको लागि बुधवार भएको निर्वाचनको मतगणना जारी छ । ७७ जिल्लामा भएको निर्वाचनको ६० भन्दा बढी जिल्लामा गणना लगभग सकिएको छ । अहिले सम्म भएको मतगणनाले अध्यक्षका उम्मेदवार विपुल पोख्रेलको प्यानलले नै अग्रता बनाएको छ ।

काठमाण्डौको केन्द्रको मत गन्न भने बाँकी छ । १२ सय ३४ मत परेको काठमाण्डौको केन्द्रमा अहिले केहीबेरपछि मत गणना गर्ने तयारी छ । केन्द्रीय अध्यक्षमा पोख्रेल सहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उम्मेदवारी रहेको छ । यस्तै, प्रतिष्ठानतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

बिहान ११ बजेसम्ममा प्रतिष्ठानतर्फको सबै नतिजा आइसक्ने निर्वाचन अधिकृत राजन कुईँकेलले जानकारी दिनुभयो । प्रतिष्ठानतर्फको केन्द्रीय समिति सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन्  ।

अधिकारी पोख्रेल प्यानलका हुनुहुन्छ भने दाहालले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । यस्तै, एसोसिएटतर्फको पनि मतगणना चलिरहेको छ । निर्वाचनका सबै नतिजा आउन अझै एक/दुई दिन लाग्ने निर्वाचन समितिका संयोजक कपिल काफ्लेले  जानकारी दिए ।

अस्ति, ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको निर्वाचन भएको हो । बैतडीमा सदस्यता वितरणको विवादले जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेन । बैतडीमा पनि छिटै नै निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे