LISTEN LIVE RADIO

गढवामा पालिका स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद सुरु



गढवामा पालिका स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद सुरु

गढवा २७ फागुन । गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा बिहिवार पालिका स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता सुरु गरेको छ । आगामी चैत्र १ गते सम्म संचालन गरिने सो प्रतियोगितामा गाउँपालिकाका सरकारी र निजी गरी ४६ बिद्यालयहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकले जानकारी दिएका छन् ।

स्वास्थ्यका लागि खेलकुद–राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु गरिएको सो खेलकुद प्रतियोगितामा सरकारी र निजी गरि कुल ३३ बिद्यालयका टिमले भाग लिएको बताइएको छ । गढवा गाउँपालिका सामाजिक बिकास समितिका संयोजक एवं वडा नम्बर ४ का अध्यक्ष गुलाम मोहम्मदको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको हो ।

गढवा ३ स्थित आदर्श रात्री आधारभूत बिद्यालयमा सुरु गरिएको सो खेलकुद प्रतियोगितामा प्राथमिक तहका बिद्यालयका छात्र र छात्राहरुका लागि १०० मिटर दौड, हिसाब दौड र बेलुन फोड, आधारभूत तहका लागि कबड्डी, १०० मिटर दौड र सटपुट तथा माबि तहका बिद्यालयका लागि भलिवल, ज्याब्लीङ थ्रो र १०० मिटर दौड लगायतका धेरै खेलहरु राखिएको शिक्षा शाखाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा शिक्षा बिकास समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरी, गढवा गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष दामबहादुर बिसी, वडा अध्यक्षहरु तुल्सीराम अधिकारी, सद्दाम सिद्दिकी, जनता मावी गढवाका प्रअ रामसुरत यादव, प्याप्सनका बिकास रजौरे, एनप्याप्सनका निर्मल रावत, आदर्श रात्री आधारभूत बिद्यालयका प्रअ शोभाराम यादव लगायतले बोलेका थिए ।
खेलकुद कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका प्रशिक्षक भिम डाँगी, उषा थापा, ऋषि चौधरी र गढवाका खेल प्रशिक्षक गोबिन्द ओलीले खेल खेलाउने नेतृत्व गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे