LISTEN LIVE RADIO

प्राकृतिक स्रोत साधानमा निर्भर पछाडि पारिएका समुदायको पहुँच बढाउन आवश्यक छ : नेपाली 



प्राकृतिक स्रोत साधानमा निर्भर पछाडि पारिएका समुदायको पहुँच बढाउन आवश्यक छ : नेपाली 
भालुवाङ १३ वैशाख । लैङ्गिक समान तथा सामाजिक समावेशीकरण अधिकृत लोकबहादुर नेपालीले प्राकृतिक स्रोत साधानमा निर्भर पछाडि पारिएका समुदायको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् ।
युएसएआइडी जल जंगलको आयोजनामा बिहीबार दाङको राप्ती गाउँपालिका ३ मसुरियामा आयोजित जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी सरोकारवाला सँगको छलफल कार्यक्रममा बोल्दै नेपालीले सो कुरा बताएका हुन् । जल, जंगल र प्राकृतिक स्रोत साधानमा हुने खाने भन्दा गरिव तथा पछाडि पारिएको समुदाय बढी मात्रामा परनिर्भर रहेको र उनीहरूले त्यहि स्रोत साधान प्रयोग गरि जिविकोपार्जन गरिरहेको अवस्थामा उनीहरूको पहुँच बढाउन सरोकारवालाहरूले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।  त्यस्तै उनले नीति नियम बनाउने ठाउँ  र लाभको बाँडफाँड गर्ने ठाउँमा पनि पछाडि पारिएको वर्गलाई सहभागीता गराउनुपर्ने बताएका छन् ।  त्यस्तै उनले स्थानीय स्तरमा प्राकृतिक स्रोतको संरक्षणमा कसैको पनि ध्यान नजाँदा अहिले पनि वन डढेलो, चोरी सिकारी, करेन्ट लगाएर माछा मार्ने जस्ता गतिविधि नरोकिएको बताएका थिए । यसका लागि उनले स्थानीय सरकार लगायत सम्बन्धित निकायको ध्यान दिन जरूरी रहेको बताए ।
त्यस्तै नेपालीले जलवायु परिवर्तनका कारण वातावरणमा ठुलो असर पर्दा वैकल्पिक उर्जा प्रयोग गरि काम गर्ने आरन व्यवसायी, तथा दुनाटपरी बनाउने समुदाय समस्यामा परेको र पेशा नै बन्द हुने अवस्थामा पुगेकाले पनि सम्बन्धित सरोकारवालाहरूको ध्यान दिन आवश्यक रहेको बताए । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय स्तरमा प्राकृतिक स्रोतमा निर्भर समुदायको अवस्था, जलवायु परिवर्तनका कारण परेको असर र वैकल्पिक जीविकोपार्जनका अभ्यासहरू तथा स्थानीय स्तरमा प्राकृतिक स्रोतको संरक्षणको अवस्था लगायतको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सामुदायिक वन, कृषि समूह, आमा समूह, दलित सञ्जाल, महिला सञ्जाल, अपाङ्गता सञ्जाल, वन डिभिजन कार्यालय, गाउँपालिकाका प्रतिनिधि गरी ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण लैङ्गिक समान तथा सामाजिक समावेशीकरण अधिकृत लोकबहादुर नेपाली र कार्यक्रम अधिकृत प्रमोद उप्रेतीले गरेका थिए । राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विनिता चौधरीले गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे