LISTEN LIVE RADIO

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेश र एपीएफको विजयी सुरुवात



प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेश र एपीएफको विजयी सुरुवात

लमही ११ पुस । शनिबारदेखि देउखुरीको लमहीमा शुरु भएको प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र एपीएफले शानदार विजयी सुरुवात गरेको छ । शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो ।

खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ् गरेको लुम्बिनी प्रदेशले उक्त लक्ष्यलाई १६.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । लुम्बिनी प्रदेशको सहज जीतमा गीता गोसाईले सर्वाधिक २३ रनको योगदान गरिन्  ।अविजित रहेकी उनले ४२ बलको सामना गर्दै २ चौकासहित उक्त रन बनाएकी थिइन् ।

यस्तै सरस्वती घर्ती मगरले २२ रन बनाइन् । ११.६ ओभरमा टिमको स्कोर ५३ रन हुँदा कविता गौतमको बलमा आउट हुन पुगेकी उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । यस्तै टिमकी कप्तान नेरी थापाले पनि अविजित रहदै १५ रनको योगदान गरिन् ।

लमहीको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर ७७ रन मात्र बनाएको थियो । प्रदेश २ का लागि ओपनर ब्याटर अनुराधा चौधरी र सना प्रविनले समान २१÷२१ रन बनाएका थिए ।

त्यस्तै विमला मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो । बलिङतर्फ लुम्बिनी प्रदेशका सुष्मिता भुषालले सर्वाधिक ४ विकेट हात पारिन् यस्तै कप्तान नेरी थापा, स्वतिका बजगाई र गीता गोसाईले पनि १÷१ विकेट लिएकी थिईन् ।

कर्णालीमाथि एपीएफको जीत

साथै कर्णाली प्रदेशलाई पराजित गर्दै एपीएफले पनि विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको एपीएफले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा शनिबार दिनको दोस्रो खेलमा कर्णालीलाई २ सय ४ रनले पराजित गरेको छ ।

खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३१ रनमा सीमित हुनपुगेको हो । उसका लागि कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस क्रममा कप्तान लक्ष्मी रिमालले ६ रन र दीक्षा पुरीले अविजित रहदै ५ बनाइन् ।

बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट हात पार्दा राजमती एरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिए । त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर पुरै मात्र ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सीता राना मगरले कप्तानी पारी खेलिन् । टिमका लागि सर्वाधिक धेरै रन बनाएकी उनले ५९ बलको सामना गर्दै ८ चौकासहित ६८ रन बनाइन् ।

यस्तै सितालाई राम्रो साथ दिएकी सरिता मगरले पनि ४४ रन बनाउँदा ओपनर ब्याटर ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडेकी थिइन् । बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथा निशा पराजुली र अञ्जु गुरुङ समान १/१ विकेट लिन सफल भएका थिए ।

यस्तै आइतवार विहान हुने खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश समूहबीच प्रतिस्पर्धा हुनेछ, भने दिउँसोको खेलमा एपीएफ र प्रदेश नं. २ बीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव संजय गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे