LISTEN LIVE RADIO

विद्यार्थीहरूलाई श्रम सँग जोड्न जरूरी छ : अध्यक्ष विष्ट



विद्यार्थीहरूलाई श्रम सँग जोड्न जरूरी छ : अध्यक्ष विष्ट

सिसहनियाँ २९ माघ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई श्रम सँग जोड्न जरूरी रहेको बताएका छन् ।

बाल कल्याण आधारभुत विद्यालय राप्ती गाउँपालिका-५ पहरूवाले सोमबार विद्यालयमा आयोजना गरेको ४१ औं वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यार्थीहरूलाई श्रम सँग जोड्न सकिने उनले बताएका थिए । राप्ती गाउँपालिकाका सवै विद्यालयहरूमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्न आफुले अर्थमन्त्री सँग कुरा समेत गरेको बताएका छन् । यो कार्यक्रम लागू भएमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बाैद्विक विकास हुने र उनीहरूले आफुले पढ्ने पैसाको जोहो समेत आफैले गर्न सक्ने क्षमताको विकास भएर जाने बताएका छन् ।

त्यस्तै अध्यक्ष विष्टले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समिति सवै जिम्मेवार हुनुपर्ने बताएका छन् । त्रिपक्षीयको समन्वय बीना शिक्षा क्षेत्रमा सुधार हुन नसक्ने भन्दै अध्यक्ष विष्टले तीनै पक्ष गम्भीर भएर लाग्नुपर्ने सुझाव समेत दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनिराम चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्राविधिक सहायक देवी मल्लको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक कालुसिंह थापाले प्रस्तुत गरेका थिए । भने विद्यालय प्रथम, द्वितीय , तीतृय आउने विजेता, अतिरिक्त क्रियाकलाप तथा विद्यालय स्तरीय खेलकुदका विजेताहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

यस्तै कार्यक्रममा विद्यालयमा निर्वतमान प्रधानाध्यापक प्रेमलाल चाैधरीले आफ्नी स्वर्गीय धर्मपत्नी लहनी देवी चाैधरीको नाममा ५५ हजार ५ सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सो अक्षयकोषको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनिराम चाैधरी र प्रधानाध्यापक कालुसिंह थापालाई हस्तान्तरण गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक सरस्वती आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य सावित्रा नेपाली, नेपाल सरकारको पढ्दै कमाउँदै कार्यक्रमका सुरूवात गर्ने अभियान्ता तथा जनज्योति मावि सुर्खेतका प्रअ नारायण प्रसाद सिग्देल, विद्यालयका निर्वतमान प्रधानाध्यापक प्रेमलाल चाैधरी, शिक्षक अभिभावक संघका संयोजक सरिता चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक बलदेव खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे