LISTEN LIVE RADIO

राप्तीको लठ्ठहवामा एन्टिजिन परिक्षण गर्दा ५ जनामा हात्तीपाइलेको जीवाणु भेटियो



राप्तीको लठ्ठहवामा एन्टिजिन परिक्षण गर्दा ५ जनामा हात्तीपाइलेको जीवाणु भेटियो

दाङ २४ पुस । दाङको राप्ती गाउँपालिका–५ लठ्ठहवा गाउँमा ३ सय १५ जनाको हात्तीपाइले रोगको जिवाणु परीक्षण गरिएको छ ।

सोमबार सो टोलमा ३ सय १५ जनामा एफ.टि.एस मार्फत एन्टिजिन परिक्षण गर्दा ५ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परेपछि एन्टिजिन पोजेटिभ देखिएका ५ जनाको रात्रीकालिन समयमा पुनः रक्त नमुना संकलन गरि माइक्रोस्कोपिङ जाँच गरिएको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटाैडाका जुनियर इन्टोमोलोजिन्ट राधा सुवेदीले बताएकी छिन् ।

एन्टिजिन जाँचमा शरीरभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले यकिन गर्न रात्रीकालीन माइक्रोस्कोपिङ जाँचका लागि गएराति रक्त नमुना संकलनको गरिएको उनको भनाई छ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सहित जिल्लाको ४ स्थानमा हात्तीपाइले रोगको अवस्थाबारे जानकारी लिन सर्वेक्षण गरिन सुरू गरिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

चन्दका अनुसार जिल्लाको ४ स्थानमा सर्वेक्षण गरिन सुरू गरिसकिएको छ यसैको आधारमा के गर्ने भनेर अगाडि बढिने छ । राप्ती गाउँपालिकाको वडा नं. ५ सहित, दंगीशरण गाउँपालिकाको वडा नम्बर ५, तुलसीपुर उपमहानगरपालिकाको वडा नं १९, घोराही उपमहानगर पालिकाको वडा नं. २ मा सर्वेक्षण गरिदै छ ।
छनोट गरिएका क्षेत्र पहिले हात्तीपाइले रोग देखिएका स्थान रहेको बताइएको छ । छनोट गरिएको एउटा क्षेत्रमा ३ सय जनाको परिक्षण गरिने फोकल पर्सन चन्दले बताएका छन् ।

जिल्लामा जम्मा एक हजार दुई जनामा परीक्षण गरिने छ । परीक्षणका क्रममा हात्तीपाइले रोग पाइएमा औषधी खुवाइने छ । जिल्लामा ५ लाख बढी जनसङ्ख्या भएकाले २ खण्डमा विभाजन गरिएको समेत उनले बताए । पहिलो चरणमा रगतको परीक्षण गरिने भएको छ । पहिलो चरणमा पोजेटिभ देखिएमा पुनः त्यस्ता व्यक्तिको रात्रीकालिन समयमा रगत लिएर परीक्षण गरिने छ । जिल्लामा पुस २७ गतेसम्म सर्वेक्षण गरेर सकिने जानकारी फोकल पर्सन चन्दले जानकारी दिएका छन् । परीक्षणबाट जिल्लाको हात्तीपाइलेको अवस्थाबारे जानकारी लिन सहज हुने र त्यसै अनुसार अगाडि बढिने उनको भनाई छ । परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।

पहिलो परीक्षण दिउँसो र पोजेटिभ देखिएमा पुनः रातीको समयमा रगत लिएर परीक्षण गरिन थालिएको उनको भनाइ छ । मानिस सक्रिय हुँदा लिइने रगतमा हात्तीपाइलेको किटाणु नदेखिने समेत उनको भनाइ रहेको छ । त्यसैले रातीको १० देखि २ बजे सम्ममा पुनः रगत लिइने छ । दिउँसो घाम भएको समयमा रगत लिँदा किटाणु रगतमा नदेखिने समेत चन्दले बताए ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ। हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन। अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने फोकल पर्सन चन्दले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे