LISTEN LIVE RADIO

एयरपोर्टका लागि दाङको साझा धारणा बनाउन समन्वय समितिलाई घोराही बनाऔं अभियानको ९ बुँदे ज्ञापनपत्र



एयरपोर्टका लागि दाङको साझा धारणा बनाउन समन्वय समितिलाई घोराही बनाऔं अभियानको ९ बुँदे ज्ञापनपत्र

घोराही २४ पुस । दाङलाई आवश्यक परेको एयरपोर्ट निर्माणको लागि जिल्लाको साझा अबधारणा बनाउनलगायतका माग राखि घोराही बनाउ अभियानले जिल्ला समन्वय समितिलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । अभियानका संयोजक सविन प्रियासनसहितको टोलीले जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रमको सहजीकरण अभियानका महासचिव पाण्डब शर्माले गरेका थिए । ज्ञापनपत्र बुझ्दै समन्वयका प्रमुख शर्माले घोराही बनाऔं अभियानले उठाएका एयरपोर्टलगायतका सबै मागहरु दाङको समृद्धि, विकाससँग जोडिएको र यो आवश्यक पनि भएकाले तत्काल एयरपोर्टको विषयमा जिल्लाको साझाधारणा निर्माण गर्न सबै पालिका, राजनीतिक दल, सरोकारवाला निकायलाई बोलाएर ठोस निर्णय गर्न आफूले पहल गर्ने बताए ।

के छ घोराही बनाऔं अभियानको ज्ञापनपत्रमा ?

श्री प्रमुखज्यू जिल्ला

समन्वय समिति दाङ

विषय : पालिकाहरुबीचमा समन्वय गर्ने सम्बन्धमा ।

महोदय, दाङ जिल्ला दशवटा पालिकाहरु मिलेर बनेको छ । पछिल्ला दिनहरुमा जिल्लाको विकासले पनि गति लिएको छ । तर विकासको दृष्टिकोणले भन्नु पर्दा जिल्लामा हुनैपर्ने केही संरचनाहरु जो सबै जिल्लाबासीको साझा विषय हो, ती कुराहरु पनि लामो समय बितिसक्दा समेत सूचारु हुन सकेका छैनन् । जस्तोकी जिल्लामा हुनैपर्ने हवाई सेवा अहिलेसम्म नियमितरुपमा सूचारु हुन सकेको छैन । तुलसीपुरको टरिगाउँ विमानस्थल विक्रम सम्वत २०१० सालमा सञ्चालन भएको हो । मुलुककै पुरानो विमानस्थल भएर पनि टरिगाउँ विमानस्थल अहिले पनि अलपत्र अवस्थामा छ । त्यसको बिस्तार गर्ने सवालमा प्रभावकारी भूमिकाको खाँचो जिल्लाले महसुस गरिरहेको छ ।

तसर्थ टरिगाउँ विमानस्थलको स्तरबृद्धिको सवालमा यहाँका दशवटै पालिकाहरुलाई एकमुख बनाउनका लागि जिल्ला समन्वय समितिले तत्काल ठोस पहलकदमि लिन जरुरी छ । यदि यस विषयमा यहाँका सबै पालिका, राजनीतिक दलहरु एकमुख बनाउन चुके भने दाङमा बिनियोजन हुने बजेट अन्यत्र जाने खतरा देखा परेको छ । यदि टरिगाउँ विमानस्थल बास्तबमै बिस्तार गर्न नसकिने अवस्थामा छ भने यहाँका सबै पालिका र राजनीति दलहरुले कुन ठाउँमा नयाँ एयरपोर्ट बनाउनुपर्ने हो साझा निर्णय गर्नैपर्ने अवस्था सिर्जना भएको छ ।

यस विषयमा जिल्लाका सबै पालिकाहरुको समन्वकारी भूमिका खेल्नका लागि गठन भएको जिल्ला समन्वय समितिले तदारुकता देखाएमा राम्रो हुनेछ । दाङको समग्र विकाससँग जोडिएका विषयहरुमा साझा अबधारणा बनाउने सवालमा अब जिल्ला समन्वय समितिको प्रभावकारी पहलकदमि आजको आवश्यकता बनको छ । तसर्थ हामी घोराही बनाऔं अभियानको तर्फबाट जिल्ला समन्वय समितिलाई निम्न विषयहरुमा पहलकदमि लिन अनुरोध गर्दछौ ।

१) जिल्लामा एउटा एयरर्पोट सञ्चालन सम्बन्धमा दशवटै पालिकाको साझा अबधारणा निर्माण गर्नुपर्ने ।

२) कोइलाबास भन्सार सञ्चालन गर्नका लागि पहल गर्नुपर्ने ।

३) लमही–तुलसीपुर फोरलेन सडकको पुनः ठेक्का गरी निर्माण कार्य सुरु गर्न पहल गर्नुपर्ने ।

४) घोराही–होलेरी, घोराही–मुर्कुटी, घोराही–रामुपुर मुलाबारी हुँदै प्युठान, तुलसीपुर–सुर्खेत, तुलसीपुर–कपुरकोटलगायतका सडक निर्माण र पुर्न निर्माणको कार्य पुरा गर्न पहल गर्नुपर्ने ।

५) घोराही कुहिरेपानी–सर्रा र अन्य ठाउँमा रहेका हुलाकी राजमार्गहरु कालोपत्रे, पुनः निर्माण, निर्माण गर्ने सवालमा प्रदेश सरकारलाई जिम्मेवार बनाउन पहल गर्नुपर्ने ।

६) हापुर–रक्षाचौर जोड्ने सडक निर्माण कार्य हाल तुलसीपुर क्षेत्रमा पुगेपछि रोकिएको छ, बजेट बिनियोजन गरि निर्माण कार्य सूचारु गर्न पहल गनुपर्ने ।

७) सबै पालिकामा भैरहेका विकास निर्माणसँग सम्बन्धित सडक, पुल, भवनलगायतका निर्माण कार्यमा भैरहेको ढिलासुस्तीको बारेमा चासो लिएर सम्बन्धित निकायलाई जागरुक र जवाफ देहि बनाउन पहलपर्ने ।

८) घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवामा गुणस्तरीयता थप्दै त्यहाँ एमबिबिएस पढाईका लागि वातावरण निर्माण गर्न पहल गर्नुपर्ने ।

९) जिल्लाको लागि आवश्यक नापतौल विभागको कार्यालय, प्रदेशस्तरीय सिटीभिटीको कार्यालय स्थापना गर्न पहल गर्नुपर्ने । सविन प्रियासन संयोजक घोराही बनाऔं अभियान

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे