LISTEN LIVE RADIO

राप्तीको ५ नम्बर वडा सहित दाङको ४ स्थानमा हात्तीपाइले रोगको अवस्थाबारे सर्वेक्षण गरिदै



राप्तीको ५ नम्बर वडा सहित दाङको ४ स्थानमा हात्तीपाइले रोगको अवस्थाबारे सर्वेक्षण गरिदै

भालुवाङ १९ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सहित जिल्लाको ४ स्थानमा हात्तीपाइले रोगको अवस्थाबारे जानकारी लिन सर्वेक्षण गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय दाङले आयोजना गरेको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ स्वास्थ्य चाैकीमा वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले सो विषयमा जानकारी गराएका हुन् ।

चन्दका अनुसार जिल्लाको ४ स्थानमा सर्वेक्षण गरिने र यसैको आधारमा के गर्ने भनेर अगाडि बढिने छ । राप्ती गाउँपालिकाको वडा नं. ५ सहित, दंगीशरण गाउँपालिकाको वडा नम्बर ५, तुलसीपुर उपमहानगरपालिकाको वडा नं १९, घोराही उपमहानगर पालिकाको वडा नं. २ मा सर्वेक्षण गरिने भएको छ ।
छनोट गरिएका क्षेत्र पहिले हात्तीपाइले रोग देखिएका स्थान रहेको बताइएको छ । छनोट गरिएको एउटा क्षेत्रमा ३ सय जनाको परिक्षण गरिने फोकल पर्सन चन्दले बताएका छन् ।

जिल्लामा जम्मा एक हजार दुई जनामा परीक्षण गरिने छ । परीक्षणका क्रममा हात्तीपाइले रोग पाइएमा औषधी खुवाइने छ । जिल्लामा ५ लाख बढी जनसङ्ख्या भएकाले २ खण्डमा विभाजन गरिएको समेत उनले बताए । पहिलो चरणमा रगतको परीक्षण गरिने भएको छ । पहिलो चरणमा पोजेटिभ देखिएमा पुनः त्यस्ता व्यक्तिको रगत लिएर परीक्षण गरिने भएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटाैडाका जुनियर इन्टोमोलोजिन्ट राधा सुवेदीले जिल्लामा पुस २७ गतेसम्म सर्वेक्षण गरेर सकिने जानकारी दिइन् । परीक्षणबाट जिल्लाको हात्तीपाइलेको अवस्थाबारे जानकारी लिन सहज हुने र त्यसै अनुसार अगाडि बढिने उनको भनाई छ । परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन हुनेछ । परीक्षण दिउँसो गरिने र पोजेटिभ देखिएमा पुनः रातीको समयमा रगत लिएर परीक्षण गरिने उनको भनाइ छ । मानिस सक्रिय हुँदा लिइने रगतमा हात्तीपाइलेको किटाणु नदेखिने समेत उनको भनाइ रहेको छ । यसैले रातीको १० देखि २ बजेसम्ममा पुनः रगत लिइने छ । दिउँसो घाम भएको समयमा रगत लिँदा किटाणु रगतमा नदेखिने समेत सुवेदीले बताइन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हात्तीपाइले रोग निवारणका लागि सबै सचेत तथा जिम्मेवार हुनुपर्ने बताएका छन् । अहिले थालिएको सर्वेक्षण कार्यलाई सबैले सहयोग गर्नुपर्ने बताए । जिल्लामा विगत १२ वर्ष देखि हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे