दाङको अमिलियाबाट ५२ लाख भन्दा बढी मूल्यको सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ



दाङको अमिलियाबाट ५२ लाख भन्दा बढी मूल्यको सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ

भालुवाङ ३० जेठ । दाङको लमही नगरपालिका–९ अमिलिया स्थित एक होटलबाट प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु सहित दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार अमिलिया स्थित नमस्ते होटलमा सुनको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले होटलको एक कोठामा खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ सुनपथरी निवासी ४० वर्षीय रूपलाल गिरि र रोल्पाको रुन्टीगढी गाउँपालिका–६ स्यामा निवासी २२ वर्षीय दिलिप परियार रहेका छन्। प्रहरीका अनुसार गिरिले उक्त धातु भारतबाट नेपाल ल्याएको र परियारले खरिद गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिएका छन् ।

खानतलासीका क्रममा प्रहरीले २ सय ९४.५ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको जनाएको छ। उक्त धातुको हालको बजार मूल्य करिब ५२ लाख ७४ हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ। बरामद गरिएको धातु र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले अवैध रूपमा बहुमूल्य धातुको ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे