देउखुरीमा यात्रुलाई खाना खुवाउने ९ वटा होटललाई ५ देखि २५ हजार रूपैयाँ सम्म जरिवाना
दाङ १० साउन । दाङको देउखुरीमा यात्रुलाई खाना खुवाउने ९ वटा होटल कारवाहीमा परेका छन् ।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन सहितको अनुगमन टोलीले विभिन्न मितिमा गरेको अनुगमनका क्रममा यात्रुलाई खाना खुवाउने ती ९ वटा होटलहरू कारवाहीमा परेका हुन् । होटलहरूमा सरसफाइको कमी देखि , बासी खाना खुवाउने गरेको यात्रुहरूको गुनासो पछि अनुगमन टोलीले ती होटलहरूलाई कारवाही स्वरूप जरिवाना गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रमुख पदम बरालले जानकारी दिएका छन् ।
बरालले दिएको जानकारी अनुसार राप्ती गाउँपालिका- ३ मसुरीयामा रहेको पूर्व–पश्चिम हाइवे होटललाई २५ हजार, सोही पालिकाको वडा नम्बर ५ पहरूवामा रहेको न्यू लुम्बिनी होटल, लमहीको हाइवे होटल, लमहीकै सुदुरपश्चिम होटललाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै गढवा गाउँपालिका वडा नम्बर १ धानखोलामा रहेका ५ वटा होटललाई जनही ५/५ हजार रूपैयाँ जरिवाना गरिएको बरालले जानकारी दिएका छन् ।
ती सवै होटलहरूमा प्रया फ्रिजमा अस्वस्थकर खाना राखेको, बासी खाना भण्डारण गरेको, पकाएर बनाईने खानामा कृतिम रंग प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूचि नटाँसेको,नालीहरुमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या देखिएपछि जरिवाना गरिएको बरालले बताएका छन् ।
तोकिएको जरिवाना एक हप्ता भित्र जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउनुका साथै कागजपत्र समेत ल्याउन निर्देशन दिइएको छ । ती होटलहरूलाई यस अघि पनि पटक–पटक सुधार गर्न निर्देशन गरिएको थियोे । अब उप्रान्त पुन त्यस्तो कमजोरी भएको पाइएमा कानुन अनुसार थप जरिवाना गर्ने वा होटल सिल समेत गर्न सकिने बरालले बताएका छन् ।
