कलासंस्कृति संरक्षण गर्ने प्रमुख दायित्व सरकारकाे हाे : मेयर खड्का



कलासंस्कृति संरक्षण गर्ने प्रमुख दायित्व सरकारकाे हाे : मेयर खड्का

दाङ १० साउन । दाङकाे तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले कला, संस्कृति र भेषभुषा जाेगाउने काम सरकार भएकाे बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्ला कार्यसमितिको आज आईतबार दाङकाे तुलसीपुर स्थित भुइँयारथान आठौँ वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताएका हुन् ।

मेयर खड्काले कला, संस्कृति राष्ट्रकाे गहना भएकाे चर्चा गर्दै यसकाे संरक्षणमा तीनै तहका सरकार जिम्मेवार बन्नु पर्ने बताए । उनले हरेक देशकाे पहिचान भनेकाे त्याे देशकाे कला, संस्कृति, गीत, संगीत र भेषभुषा रहेकाे बताए । उनले नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएकाे देश भएकाेले यही कला र संस्कृतिलाई मात्र पर्वद्धन गर्न सके मात्र देश आर्थिक रूपमा सबल बन्ने बताए । मेयर खड्काले कलाकारितालाई साैखका रूपमा मात्र नभई व्यवसायिक बनाउनुपर्ने सुझाब समेत दिए । उनले तुलसीपुर उप-महानगरपालिकाले माैलिक पञ्चेबाजा संरक्षण कार्यक्रम देखि बाध्यबादन तालिम लगायतका कार्यक्रम मार्फत समेत सञ्चालन गर्दै आईरहेकाे बताए ।

संघका दाङ जिल्ला अध्यक्ष श्रीधर कडेलकाे अध्यक्षता एवम् तुलसीपुर नगरपालिकाका मेयर टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य कुलबहादुर वलीले राष्ट्रिय संगीतकर्मी संघले पछिल्लो समय नयाँ कलाकार उत्पादन, व्यवसायिक कलाकारिता, माैलिक गीतसंगीत उत्पादन लगायतका बिषयमा निरन्तर कार्य गर्दै आईरहेकाे बताए । उन विभिन्न समयमा घाइते भएका कलाकारहरूकाे निशुल्क स्वास्थ्य उपचार देखि मृत्युबरण भएका कलाकारका घर परिवारलाई राहत प्रदान लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेकाे समेत बताए ।

संघकी दाङ जिल्ला उपाध्यक्ष बेलमति बिककाे स्वागत मन्तब्यबाट शुरू भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा संघकी लुम्बिनी प्रदेश उपाध्यक्ष उषा दसौदी, प्रदेश काेषाध्यक्ष दिपक वली र संघ कै लुम्बिनी प्रदेशका प्रेस सल्लाहकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले बाेलेका थिए । साे अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा बच्चु कैलाश, ज्ञानेन्द्र स्वर्णकार, दीपक ओली, उषा दसौदी, सन्तोषकुमार गुप्ता र टेकम पुन लगायत रहेका थिए । उनीहरूलाई कला, संस्कृति, सामाजिक सेवा तथा सङ्गीत क्षेत्रको विकासमा पुर्‍याउनु भएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी तुलसीपुर–४ का समाजसेवी आमा समूहका दिदीबहिनीहरू, पञ्चेबाजा टोली, विभिन्न कम्पनी तथा नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका अभिभावक संगीतकर्मीहरूलाई समेत सम्मान तथा सम्मान-पत्र प्रदान गरिएको थियो । कार्यक्रमकाे सञ्चालन संघका बरिष्ठ उपाध्यक्ष दीपक बर्माले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे