प्रदेशमा सत्ता समीकरण र सहकार्य गर्ने सहमतीपछि लुम्बिनीमा कांग्रेसका मन्त्रीहरुद्धारा राजीनामा
भालुवाङ १० साउन । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् ।
सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलका नेता चौधरीलाई राजीनामा पठाएको बताउनुभयो । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी -नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आइतबार कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी हुनु भएको थियो । अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ ।
लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्यमा सरकार बनेको थियो । दुई दल बिच आलोपालो मुख्यमन्त्री बन्ने सहमती अनुसार एमालेका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ । तर एमाले–नेकपा बिच सात वटै प्रदेशमा सत्ता समीकरण र सहकार्य गर्ने सहमती भएपछि कांग्रेस सत्ताबाट बाहिरिएको छ ।
