मुक्त कमलरी विकास मञ्चको समीक्षा, बालविवाहको अवस्था र कानुनी प्रावधानबारे अभिमुखीकरण



मुक्त कमलरी विकास मञ्चको समीक्षा, बालविवाहको अवस्था र कानुनी प्रावधानबारे अभिमुखीकरण

गढवा २९ जेठ । मुक्त कमलरी विकास मञ्चद्वारा सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा बालविवाहको अवस्था र कानुनी प्रावधान सम्बन्धी अभिमुखीकरण कार्यक्रम गढवामा सम्पन्न भएको छ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुमिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। मुक्त कमलरी विकास मञ्च दाङको आयोजना तथा गढवा गाउँपालिका वडा नं. ६ र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको संयुक्त समन्वयमा आयोजित कार्यक्रममा बालविवाह न्यूनीकरण परियोजनामार्फत सन् २०२४ देखि २०२६ सम्म सम्पन्न भएका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे समीक्षा गरिएको थियो। कार्यक्रममा मुक्त कमलरी विकास मञ्च गढवाकी अध्यक्ष तथा कार्यक्रम संयोजक ज्ञानु थापाले परियोजनामार्फत हालसम्म ३८ लाख रुपैयाँभन्दा बढी रकमका विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै बालविवाह न्यूनीकरण, सचेतनामूलक अभियान, क्षमता विकास तथा समुदाय परिचालनका क्षेत्रमा भएका उपलब्धिहरू प्रस्तुत गरे।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष दुखहरण यादवले रिड नेपालको सहयोगमा सञ्चालन भइरहेको ट्याग परियोजनाबारे जानकारी गराउँदै बालबालिका तथा युवाहरूको क्षमता अभिवृद्धिमा परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बालविवाह बढ्दो क्रममा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि समुदायस्तरमा चेतनाको विकास अपरिहार्य रहेको बताए । उनले गढवा गाउँपालिकामा बालविवाह नियन्त्रणका लागि मुक्त कमलरी विकास मञ्च, सामुदायिक पुस्तकालय तथा अन्य सामाजिक संघसंस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गरे । वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले स्थानीय सरकारसँगको समन्वयमा बालविवाह न्यूनीकरण अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताए । उनले बालबालिकालाई बालविवाहका कारण उत्पन्न हुने समस्या, चुनौती र दीर्घकालीन असरबारे जानकारी दिन आवश्यक रहेको धारणा राखे।

त्यसैगरी गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले बालविवाह न्यूनीकरण अभियानमा मुक्त कमलरी विकास मञ्चसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। वडा सदस्य दिनमणी आचार्यले गढवा गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि निरन्तर प्रयास गरिरहेको र विभिन्न संस्थासँगको सहकार्यले अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा गढवा गाउँपालिका पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्मा, मानव कल्याण तथा वातावरणका कमल गौतम, ट्याग परियोजनाकी कोडिनेटर सूचना रेग्मी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण पुस्तकालयका सचिव पटवारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे