राप्तीमा कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी : उत्कृष्ट गहुँ उत्पादन गर्ने ३ जना कृषक पुरस्कृत



राप्तीमा कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी : उत्कृष्ट गहुँ उत्पादन गर्ने ३ जना कृषक पुरस्कृत

भालुवाङ २९ जेठ। दाङको राप्ती गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण तथा उद्यमशीलता र रोजगारी तथा स्वराेजगारीका अवसरबारे जानकारी गराउने उद्देश्यले आयोजित ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ शुक्रबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाको आयोजना तथा गुड नेबर्स इन्टरनेशनल नेपाल, आत्मनिर्भर केन्द्र र संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिटाट) को सहकार्यमा गाउँपालिका कार्यालय परिसरमा सञ्चालन गरिएको प्रदर्शनीमा कृषि उत्पादन, कृषि औजार तथा प्रविधि, उन्नत जातका पशुपन्छी, स्थानीय हस्तकला तथा लघु उद्योगका उत्पादन सम्बन्धी ३७ वटा स्टल राखिएका थिए। प्रदर्शनीमा स्थानीय कृषक, उद्यमी,विद्यार्थी,बैंक,कृषि सहकारी संस्था तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो।

प्रदर्शनी उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कृषि, पशुपालन, उद्यमशीलता र रोजगारीलाई एकीकृत रूपमा विकास गर्न यस्ता प्रदर्शनी प्रभावकारी माध्यम बन्ने बताए। उनले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि उत्पादनमुखी कृषि, स्वरोजगार र स्थानीय उद्यमको विकास आवश्यक रहेको उल्लेख गरे। ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन कृषक तथा उद्यमीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको बताउँदै उनले विदेशी उत्पादनप्रतिको निर्भरता घटाई स्थानीय तथा स्वदेशी उत्पादनको प्रयोग र बजारीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले प्रदर्शनीले स्थानीय उत्पादनको प्रचारप्रसार, नवीन प्रविधिको हस्तान्तरण तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले कृषि र उद्यम क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधारका रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । पालिकाले कृषक तथा उद्यमीको क्षमता अभिवृद्धि, उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

प्रदर्शनीमा सहभागीहरूले कृषि तथा पशुपालन क्षेत्रमा प्रयोग भइरहेका नवीन प्रविधि, स्थानीय उत्पादन तथा उद्यमका गतिविधिबारे जानकारी लिएका थिए। साथै कृषक, उद्यमी र सरोकारवाला निकायबीच अनुभव आदानप्रदान गर्ने अवसरसमेत सिर्जना भएको गाउँपालिकाले जनाएको छ। यसै बीच राप्ती गाउँपालिकाले उत्कृष्ट गहुँ उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रतिइकाइ क्षेत्रफलमा सबैभन्दा बढी गहुँ उत्पादन गर्ने कृषकलाई छनोट गरी पुरस्कृत गरिएको हो। पुरस्कृत हुने कृषकमध्ये वडा नम्बर ९ की लक्ष्मी उलुङ्गे प्रथम, वडा नम्बर ६ का धनराज चौधरी द्वितीय तथा वडा नम्बर ६ कै सुकदेव चौधरी तृतीय हुनुभएको छ। प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगदसहित मकै रोप्ने मेसिन, कोदालो तथा सम्मानपत्र प्रदान गरिएको थियो। साथै सान्त्वना स्थान हासिल गर्ने अन्य चार जना कृषकलाई पनि मकै रोप्ने मेसिन, कोदालो र सम्मानपत्र प्रदान गरिएको कृषि शाखाले जनाएको छ। करिब ६ सय जनाले अवलोकन गरेको प्रदर्शनीबाट स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र उद्यमशीलता विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे