दाङको राप्तीमा विद्यार्थी भर्ना अभियान वैशाख ४ गते देखि सुरू हुँदै
दाङ ३ वैशाख । दाङको राप्ती गाउँपालिकामा शैक्षिक सत्र २०८३ का लागि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान २०८३ वैशाख ४ गते देखि सुरू हुन लागेको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, मसुरियाले सुचना प्रकाशित गर्दै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई आवश्यक तयारीका साथ शैक्षिक गतिविधि अघि बढाउन आग्रह गरेको हो।
गाउँ कार्यपालिकाको वैशाख ३ गते बसेको बैठकको निर्णय अनुसार विद्यालयहरूले वैशाख ४ गते देखि शिक्षक तथा कर्मचारी परिचालन गरी विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न साथै, शैक्षिक सत्रका लागि कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तयार, शैक्षिक योजना बनाउने तथा शिक्षकहरूको पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।
त्यसैगरी अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न १३ वर्षमुनिका विद्यालय बाहिर रहेका बालबालिकाको विवरण संकलन गरी विद्यालयमा भर्ना गराउन र सोको विवरण गाउँपालिकामा पेश गर्न भनेको छ। नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन वैशाख १४ गते सोमबार देखि सुरु गर्न निर्देशन दिएको छ । संस्थागत विद्यालयहरूको छात्रवृत्ति व्यवस्था अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ तथा नियमावली २०७७ बमोजिम कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरिएको छ। गाउँपालिकाले सबै विद्यालयलाई निर्धारित मापदण्ड पालना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह समेत गरेको छ।


