तुलसीपुरमा पत्रकार र व्यवसाय बीचकाे लफडा मिल्याे : आराेप फिर्ता लिने सहमति



तुलसीपुरमा पत्रकार र व्यवसाय बीचकाे लफडा मिल्याे : आराेप फिर्ता लिने सहमति

तुलसीपुर २ वैशाख । दाङको तुलसीपुरमा व्यवसाय र पत्रकार बीच उत्पन्न बिबाद सहमतिमा टुङ्गिएकाे छ । सजना मिष्ठान भण्डार र पत्रकार बीच देखिएको विवादमा सहमति जुटेपछि समस्या समाधान भएकाे हाे । समाचारकाे विषयलाई लिएर व्यवसायीले पत्रकारमाथि लगाएको आरोप फिर्ता लिने सहमति सहित मंगलबार राति दुवै पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल पत्रकार महासंघ, संवाद समूह तथा होटल व्यवसायीको रोहबरमा भएको छलफलपछि दुवै पक्षले आपसी समझदारी कायम गर्दै विवाद टुंग्याएका हुन् । सहमति अनुसार, सजना मिष्ठान भण्डारका सञ्चालकले आवेशमा आएर दिएको बदनियतपूर्ण आर्थिक लेनदेन सम्बन्धी अभिव्यक्ति फिर्ता लिने र पत्रकारको तस्बिर आपत्तिजनक शब्दसहित टाँसिएकोमा प्रायश्चित गर्ने सहमति भएको छ ।

त्यस्तै, पत्रकारको तर्फबाट पनि समाचार प्रकाशनपछि उत्पन्न परिस्थितिले व्यवसायीको भावनामा पुगेको ठेसप्रति संवेदनशील हुँदै प्रायश्चित गर्ने सहमति भएको छ । बत्यसैगरी तुलसीपुर खबरको न्युज पोर्टलमा आएको समाचार बाहेक पत्रकारको मानमर्दन हुनेगरि विभिन्न व्यक्तीका फेसबुकमा पोष्ट गरिएका सामग्री हटाउने र विभिन्न निकायमा दर्ता गरिएका उजुरी तथा निवेदन फिर्ता लिने निर्णय दुबैपक्षबीच सहमति भएको छ ।

गत चैत्र २४ गते मिष्ठान भण्डारको किचनमा खाद्य स्वच्छता मापदण्ड सम्बन्धी विषयमा सञ्चार माध्यममा भिडियो सामग्री प्रकाशित भएपछि दुवै पक्षबीच विवाद चर्किएको थियो । यसका साथै, तुलसीपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्र (होटल व्यवसायी) र सञ्चार क्षेत्रबीच सहकार्य, सह–अस्तित्व र परिपूरक भूमिकामा अघि बढ्ने सहमति पनि भएको छ ।

सहमति प्रक्रियामा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य तथा संवाद समूहका सहजकर्ता सुशील बस्नेत, होटल व्यवसायी महासंघका केन्द्रीय सचिव नेत्रलाल वली, तुलसीपुर होटल व्यवसायी संघका अध्यक्ष इन्द्रबहादुर बस्नेत तथा व्यवसायी संगित बस्यालको उपस्थिति रहेको थियो । सहमति पत्रमा मिष्ठान भण्डारका तर्फबाट ध्रुवराज पाण्डे र पुष्कर पाण्डे तथा “तुलसीपुर खबर”का तर्फबाट पत्रकार चेतन वली र प्रकाशक ओपेन्द्र बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे