स्थानीय सरकार जनताका समस्या सुन्ने र समाधान गर्ने सरकार हो : अध्यक्ष विष्ट



स्थानीय सरकार जनताका समस्या सुन्ने र समाधान गर्ने सरकार हो : अध्यक्ष विष्ट

भालुवाङ १ वैशाख । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकार जनताको समस्या सुन्ने मात्र नभई समाधान गर्ने जिम्मेवार निकाय भएको बताएका छन् ।

उनले जनताका गुनासा, सुझाव र आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्नु नै स्थानीय सरकारको मुख्य कर्तव्य रहेको स्पष्ट पारे ।
आशाका किरण संस्थाको सहजीकरणमा सोमबार राप्ती गाउँपालिका–८ नयाँ बजार, सिसहनियाँमा आयोजित आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख जवाफदेही वक्ताका रूपमा बोल्दै अध्यक्ष विष्टले “जहाँ जनताको समस्या हुन्छ, त्यहीँ स्थानीय सरकार पुग्नुपर्छ, र समाधान दिनुपर्छ,” भन्ने धारणा व्यक्त गरे। उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्याको पहिचान र समाधान खोज्ने प्रक्रिया अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए ।

अध्यक्ष विष्टले सीमित स्रोत र साधनका बाबजुद पनि गाउँपालिकाले सेवा प्रवाहलाई निरन्तर सुधार गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै बजेट अभावका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न कठिनाइ भएको बताए । “आधारभूत स्वास्थ्य संस्था सञ्चालन गर्न वार्षिक करिब ६ करोड रुपैयाँ आवश्यक पर्छ, तर १० लाख मात्रै बजेट आउने अवस्थाले सेवा सञ्चालनमै चुनौती सिर्जना गरेको छ,” उनले भने । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सडक पूर्वाधार, कृषि विकास, स्वास्थ्य सेवा, शिक्षा सुधार तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्ने विषयमा जिज्ञासा तथा गुनासा राखेका थिए । उठेका प्रश्नहरूको जवाफ अध्यक्ष विष्टसहित प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, कृषि शाखा प्रमुख बरसाती गडरिया, उद्यम विकास शाखा प्रमुख विनिता चौधरी तथा वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरीले दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाको दोस्रो चौमासिक प्रगति विवरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले प्रस्तुत गरेका थिए भने नागरिक प्रतिवेदन आशाका किरण संस्थाका सहकोषाध्यक्ष शिवराज भुसालले प्रस्तुत गरेका थिए । कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष दिवस आचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । आशाका किरण संस्थाकी कोषाध्यक्ष ममता गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ता र सचिव पवित्रा विश्वकर्माले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे