दाङको भालुवाङमा कांग्रेसको प्रदेश स्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
भालुवाङ २९ चैत । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)काे भालुबाङमा आयोजना गरेको छ ।

पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा चुनावी समीक्षा आयोजना गरिएको हो । कार्यक्रममा प्रदेशका २६ वटा संघीय निर्वाचन क्षेत्रका उम्मेदवारसहित प्रदेश तथा जिल्ला तहका नेतृत्वहरूको सहभागिता रहेको छ ।

प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनको अध्यक्षतामा समीक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । केन्द्रीय कार्यसमिति नभनी संघीय कार्यसमिति र सभापति भनेर सम्बोधन गरिएको छ । संघीयताको सबल कार्यान्वयनका लागि यसखाले अभ्यास गरिएको उद्घोष गरिएको छ । उम्मेदवारहरूले कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पराजय भोग्नुका कारण आन्तरिक तथा बाह्य दुवै रहेको औंल्याएका छन् । चुनावमा अन्तरघात गर्नेहरूमाथि कारबाही गर्न कडा माग समेत गरेका छन् ।


