आशाका किरण संस्थाद्वारा गढवाका दुई विद्यालयमा ५२ विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण
देउखुरी २६ माघ । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले गढवा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
सोमबार गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको दुई विद्यालयका कुल ५२ जना बालबालिकालाई झोला, कापी र पेन्सिल वितरण गरिएको हो । शिक्षामा पहुँच अभावका कारण पढाइमा असर परिरहेका बालबालिकाहरूलाई लक्षित गर्दै संस्थाले गरेको यो कार्यक्रम स्थानीय स्तरमा निकै सराहनीय मानिएको छ । समाजमा रहेका आर्थिक रूपमा कमजोर वर्गका बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग मार्फत विद्यालय शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ । प्राचीन फिजियो थेरापी लमही शाखा स्थापनाको चौथो वर्षमा प्रवेश गरेको अवसरमा थेरापीका सञ्चालक डा. प्राचीन पौडेलले आशाका किरण संस्थालाई ५२ थान विद्यालय झोला सहयोग गरेका थिए । साथै, विदेशमा रहेका समाजसेवी दिपक चुदाली र अनिल खनालले २२ दर्जन कापी र १ सय १० थान पेन्सिल उपलब्ध गराएपछि संस्थाले ती दुवै विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गरेको हो ।
संस्थाले गढवा गाउँपालिका–६ बालाखुट्टीमा रहेको बाल कल्याण आधारभूत विद्यालयमा बाल विकास देखि कक्षा ५ सम्म अध्ययनरत २० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । त्यसैगरी सोही वडाको खबरीमा रहेको बालबुद्धि प्राथमिक विद्यालयका ३२ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्रत्येक बालबालिकालाई एक–एक थान झोला, पाँच–पाँच वटा कापी र दुई–दुई वटा पेन्सिल वितरण गरेको संस्थाले जनाएको छ । आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षता एवम् गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य दिनामणि आचार्य प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षामा यस्ता सहयोगले ठूलो अर्थ राख्ने उल्लेख गरे । “शिक्षा नै विकासको आधार हो । गरिबीका कारण बालबालिकाले पढाइ छोड्न नपरोस् भन्ने उद्देश्यले गरिने यस्ता कार्यक्रम प्रशंसनीय छन्,” उनले भने । साथै उहाँले स्थानीय तह र सामाजिक संस्थाबीच सहकार्य भएमा शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे ।
त्यस्तै आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्यले संस्थाले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । “हामीले सीमित स्रोतसाधनका बाबजुद पनि समाजका पछाडि परेका वर्गलाई सहयोग गर्ने प्रयास गर्दै आएका छौं,” उनले भने । उनले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्राचीन फिजियो थेरापीका सञ्चालक डा. प्राचीन पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । “बालबालिकाको भविष्य उज्यालो बनाउन सानो सहयोगले पनि ठूलो योगदान दिन सक्छ,” उनले भने । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले राज्यले गर्नुपर्ने काम सामाजिक संस्थाले गरिरहेको भन्दै संस्थाको योगदानको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा बाल कल्याण आधारभूत विद्यालय गढवा–६ बालाखुट्टीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदी, प्रधानाध्यापक मादिका शर्मा र पूर्व प्रधानाध्यापक तारा प्रसाद ढुंगाना, बालबुद्धि प्राथमिक विद्यालय गढवा–६ खबरीका शिक्षक चेतमान केसी र शिक्षिका इन्द्रा केसीले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययन सामग्रीको अभाव रहेको उल्लेख गर्दै यस प्रकारको सहयोगले विद्यार्थीको नियमित उपस्थिति र सिकाइमा सकारात्मक प्रभाव पार्ने बताए ।
कार्यक्रममा आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सूर्यकिरण केसी, संस्थाका शुभचिन्तक तथा राप्ती प्राविधिक शिक्षालयका ईश्वर केसी, दाह्री ग्याङ लुम्बिनी प्रदेशका सह–संयोजक ताजन भण्डारी लगायतको उपस्थिति रहेको थियो । संस्थाका महासचिव लोकमणि भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

