जन्मदिनलाई मानव-सेवामा रूपान्तरण : ललित कुमालद्वारा नीलसागर सेवाश्रममा फलफूल सहयोग
भालुवाङ २५ माघ । “संसारमा मानव-सेवा भन्दा ठूलो धर्म अरु कुनै छैन” भन्ने भावनालाई व्यवहारमै उतार्दै ललित कुमाल अविरल कान्छाले आफ्नो जन्मदिनको अवसरमा असहाय, बेसहारा तथा सडकमानव बुवा–आमाहरुलाई फलफूल तथा जुस सहयोग गरेका छन् ।

गढवा गाउँपालिका–१, रनसिंह चिसापानी निवासी कुमालले आइतबार दाङ राप्ती गाउँपालिका वडा नम्बर ८ काेहलुवा मिलनडाँडामा रहेको नीलसागर सेवाश्रममा आश्रय लिइ जीवन निर्वाह गरिरहेका असहाय, बेसहारा तथा सडकमानव बुवा–आमाहरुसँग प्रत्यक्ष भेटघाट गर्दै स–प्रेम फलफूल र जुस अर्पण गरेका हुन्। गरीब, दुःखी, असहाय र बेसहाराप्रति गहिरो माया र करुणा राख्दै आएका कुमालकाे यस मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। आफ्नो व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै उनले देखाएको यो सत्कर्म उदाहरणीय छ ।

साे अवसरमा नीलसागर सेवाश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले सहयोगीदाता कुमाल प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै उनको सु–स्वास्थ्य, उत्तरोत्तर उन्नति–प्रगति तथा दीर्घायुको कामना गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, देउखुरी टुडेका अध्यक्ष तथा प्रधानसम्पादक सन्ताेष कुमार गुप्ता, राष्ट्रिय संगितकर्मी संघ दाङका अध्यक्ष श्रीधर कंडेल लगायतको सहभागिता रहेको थियो।


