लुम्बिनीमा मानव-वन्यजन्तु द्वन्द्व मुख्य चुनौती, ६ महिनामा १० जनाको मृत्यु



लुम्बिनीमा मानव-वन्यजन्तु द्वन्द्व मुख्य चुनौती, ६ महिनामा १० जनाको मृत्यु

देउखुरी २७ माघ । लुम्बिनी प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व मुख्य चुनौतीका रूपमा देखिएको छ। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै समाधानका ठोस योजना बनाउने विषयमा छलफल गरिएको छ।

वितेको ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भएको छ। प्रदेश वन निर्देशनालयका अनुसार बर्दियामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ। कपिलवस्तु र बाँकेमा एक–एक जनाको मृत्यु भएको छ। चितुवा, पाटे बाघ र जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति बढ्दै गएको हो।

यस अवधिमा वन्यजन्तुको आक्रमणबाट १४ जना घाइते भएका छन्। बर्दियामा १२ जना र पश्चिम नवलपरासीमा २ जना घाइते भएका हुन्। वन्यजन्तुको आक्रमणबाट ९७ वटा पशुचौपायाको मृत्यु भएको छ। सबैभन्दा धेरै बर्दियामा ८३ वटा, अर्घाखाँचीमा ४ वटा, पश्चिम नवलपरासीमा ६ वटा र गुल्मीमा ४ वटा पशुचौपायाको मृत्यु भएको हो।

यस्तै, ३१५ वटा घाइते वन्यजन्तुको उद्धार गरिएको छ। १७ वटा वन्यजन्तुको मृत्यु भएको छ। वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत वितरण गर्ने गरिएको छ। बर्दियामा २५ जनालाई १ करोड २२ लाख ५३ हजार ८ सय रुपैयाँ राहत वितरण गरिएको छ। मानवीय क्षति भएका ११ जनाका परिवार र १४ जना घाइतेलाई उपचार खर्च उपलब्ध गराइएको हो ।  चालु आर्थिक वर्षमा मृत्यु भएका ८ जनाका परिवार र गत आर्थिक वर्षमा मृत्यु भएका ३ जनालाई पनि चालु आर्थिक वर्षमै राहत उपलब्ध गराइएको छ। बाँकेमा ३ लाख ९० हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो। कार्यक्रममा वन निर्देशनालयका महानिर्देशक प्रभात सापकाेटाले अर्धवार्षिक उपलब्धि विवरण प्रस्तुत गरेका थिए ।

वनमन्त्री कलवारले मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै जानु चिन्ताको विषय भएको भन्दै समाधानका ठोस योजना बनाउन निर्देशन दिए। वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले मानव–वन्यजन्तु द्वन्द्वका घटना न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक रहेको बताए।  महाशाखा प्रमुख महेन्द्रराज वाग्लेकाे स्वागत मन्तव्य तथा बिषय प्रबेशबाट शुरू भएकाे गाेष्ठी उद्घाटन कार्यक्रमकाे सञ्चालन मन्त्रालयका बजेट कार्यक्रम तथा याेजना शाखा प्रमुख टाेलकराज चापागाईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे