अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्यामा प्रदेशसभा प्रवेशद्वारमा दीप प्रज्वलन
देउखुरी १६ मंसिर । ३४ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशसभाको प्रवेशद्वारमा मंगलवार दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा दिवसको पुर्व सन्ध्यामा लुम्बिनी प्रदेशसभाको प्रवेशद्वारमा दीप प्रज्वलन गरिएको हो ।
दिप प्रज्वलन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर क्रियाशील रहेको बताउँदै, “समावेशीताको अन्तिम लक्ष्य भनेकै समान अवसर र सम्मानपूर्ण जीवन हो,” उनले भनिन् । त्यस्तै लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाले अपांगता क्षेत्रका आवाजलाई नीतिगत प्रक्रियामा समेट्दै आएको बताउँदै, समाजका सबै संरचना अपांगतामैत्री बनाउन संस्था सँग सहकार्य आवश्यक रहेको धारणा राखेका छन् । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख संझना सुवेदीले अपांगता भएका व्यक्तिहरूलाई लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका सदस्य केशव भुसालले अपांगता क्षेत्रका चुनौती समाधानमा सरकारी–गैरसरकारी समन्वय अपरिहार्य रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले सञ्चारमाध्यमले अपांगता सम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउँदै, जनचेतनाको अभाव अझै चुनौती बनेको धारणा राखे । त्यसैगरी अपांग सञ्जाल राप्तीका अध्यक्ष ऋषिराम बस्नेतले भौतिक पूर्वाधार देखि सेवा–सुविधा सम्म अपांगतामैत्री वातावरण सुनिश्चित गर्न राज्यका सबै निकाय गम्भीर हुनुपर्ने धारणा राखे । कार्यक्रमको सञ्चालन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक धिरेन्द्र विकेले गरेका थिए ।

