के नेपालकाे राजनीति विभाजन तर्फ अघि बढेकाे हाे ?



के नेपालकाे राजनीति विभाजन तर्फ अघि बढेकाे हाे ?

  -सन्ताेषकुमार गुप्ता

नेपालमा राजनीति गर्नु के अपराध हाे ? किन पछिल्लो समय राजनीतिलाई अपराधिकरण गरिदैछ ? आज मुलुकलाई याे अवस्था सम्म ल्याउने नेताहरूकाे किन यति धेरै अपमान गरिदैछ । के नयाँ भन्नेले यही हाे त सिकाएकाे राजनीतिक संस्कार ? हिजाेकाले अर्थात तपाईहरूकाे भाषामा पुरानाले यति सम्म नगरेकाे भए के यति सजिलाे शासन चलाउने अवस्था आउँथ्याे त ? पुराना दल प्रति किन यति धेरै बितृष्णा पैदा गराएकाे ? हाे म मान्छु पुराना तथा स्थापित दलहरूबाट पनि थुप्रै गल्ती अनि कमी कमजाेरी नभएका पनि हाेइनन् तर यसकाे मतलब याे हाेइन कि पुराना दलहरू सच्चिएर अघि बढ्न पाउने अधिकार छैन ? अर्थात त्याे छुट छैन ?

हिजाे अँग्रेज संग काे लड्याे ? नेपालमा राणा शासनका बिरूद्ध काे लड्याे ? कसले ज्यान गुमायाे ? नेपालमा १० बर्ष सशस्त्र युद्ध कसकाे बलमा भयाे ? देशमा निरकुश राजतन्त्र अन्त्य गरेर देशमा संघीय लाेकतान्त्रिक गणतन्त्र कसले ल्यायाे ? लाेकतान्त्रिक संविधान कसले ल्यायाे ? देशमा यति धेरै भाैतिक विकास, प्रबिधिकाे विकास, जनताहरूमा जागरण कसले गर्दा आयाे ? पुराना भन्नेहरूलेबाट हाेइन ? नयाँ भन्नेहरूले एक पटक पूर्व मेची देखि पश्चिम महाकाली सम्म अनि हिमाल देखि पहाड अनि पहाड देखि तराई अनि मधेसका गल्ली-गल्लीमा पसेर हेर, हिजाेकाे अवस्था के थियाे र अहिलेकाे अवस्था कस्ताे छ ? वास्तविकता नबुझिकन सामाजिक सञ्जाल हेरे कै भरमा वा विदेशकाे एउटा कुनामा बसेर पुराना भन्नेहरूलाई यति धेरै गाली गर्ने अधिकार तपाईहरूलाई कसले दियाे ? अहिले जनताहरू कसले गर्दा यति धेरै सचेत भएका हुन् ? आफ्नाे हक, अधिकार र कर्तव्य के हाे भन्ने कुरा राम्राे संग बुझ्ने अवस्था कसले बनायाे ?

तर आजभाेली हामी देख्दैछाैँ सदन देखि सडक सम्म पुरानालाई बाेल्नबाट राेक लगाईदैछ । बाेल्याे कि गालीकाे वर्षा लगाई हाल्नु पर्ने । त्याे पनि हिम्मत नभएका कायरहरू नक्कली फेसबुक आइडी बनाएर व्यक्तिगत रूपमै अस्लिल गालीगलाैज गर्न सम्म पछि नहट्ने कुसंस्कार भएका मनुवाहरू । भाैतिक रूपमा बहस र तर्क गर्ने हैसियत र औकात गुमाएपछि अरू उपाय त लागेन अनि गर्ने भनेकाे नक्कली फेसबुक आइडी बनाएर व्यक्तिगत गालीगलाैज र अस्ललील शब्द प्रयाेग गरेर आलाेचना गर्ने याे कुन स्तरकाे राजनीतिक संस्कार अनि चेतना हाे ? तपाईहरूकाे भाषामा पुराना जति झाेले हुन भने तपाईहरू जस्ता नयाँहरूकाे उपनाम के हाे ? अहिले तपाईहरूलाई पनि गाली गर्न यही समुदायले पनि उपनाम दिएकाे रहेछ । मैले पनि केहीदिन अघि मात्र थाहा पाएकाे । मलाई माफ गर्नु हाेला तपाईहरूका लागि पनि यही समुदायले राखेकाे नाम म नचाहेर पनि उल्लेख गर्न अनुमति चाहन्छु । अहिले त हजुरहरूलाई पनि कसैले घण्टे त, कसैले खराने पाे भन्न थालेका छन् । उपनाम राख्न तपाईहरू जति सिपालु हुनुहुन्छ नी त्यति सिपालु अहिलेकाे याे समुदाय पनि उत्तिकै सिपालु रहेछ ।

मैले यति मात्र भन्न चाहन्छु, नयाँले पुरानालाई देख्नै नसक्ने र पुरानाले नयाँलाई स्वीकार गर्न नसक्नु नै नेपालकाे परिबेशमा सबै भन्दा ठुलाे राजनितिक समस्या हाे । यही समस्याका कारण आज समाज दुई कित्तामा बिभाजन भएकाे छ । यही विभाजन नै देशका लागि सबै भन्दा खतरा अनि घातक बन्न सक्छ । अहिले नयाँ पुस्तामा जुन प्रकारले राजनीतिक संस्कारकाे विकास भईरहेकाे छ, त्याे नै सबै भन्दा खतरा र संकटकाे बिषय हाे । त्यसैले अब राजनीति रहरले हाेइन, अब राजनीति आवेग, उत्जेजना, भावना र लहरले मात्र हाेइन, अबकाे राजनीति विबेक, संयमता, गम्भीरता र बुद्धिमताले सञ्चालन गर्नु नै आजकाे आवश्यकता हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे