गोबरडिहाकाे अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न



गोबरडिहाकाे अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न

गढवा १३ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा–३ को आठौं वार्षिक साधारण सभा शनिबार गढवा–३ गोबरडिहामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोककुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

प्रमुख अतिथि यादवले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा पुँजी परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहकारीको लगानी सुरक्षित रहन, जोखिम न्यून हुन र आय–आर्जनमा टेवा पुग्न उत्पादनमुखी लगानी नै सर्वोत्तम विकल्प भएको बताए । उनले ऋणी सदस्यहरूले ऋण लिएर केवल उपभोगका लागि प्रयोग नगरी व्यवसाय, उद्यम तथा उत्पादनमा लगानी गरे मात्र सहकारीको वास्तविक उपलब्धि देखापर्ने र सहकारी क्षेत्र सुदृढ बन्दै जाने बताए। साधारणसभामा सहकारीका अध्यक्ष कुलराज कुमालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले पछिल्लो वर्ष उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे विस्तृत जानकारी दिए । उनले आगामी वर्षमा उत्पादनमुखी ऋण प्रवाहलाई प्रभावकारी बनाउने, डिजिटल प्रणाली थप विस्तार गर्ने, जोखिम व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने तथा सदस्य अभिमुखीकरण र वित्तीय साक्षरता कार्यक्रमलाई प्राथमिकता दिने नीतिगत योजना सार्वजनिक गरे।

संस्थाकी व्यवस्थापक सहायक शिवा केसीले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन  प्रस्तुत गरेकी थिइन भने आन्तरिक लेखा परीक्षण समितिका संयोजक दीपककुमार चौधरीले २२ करोड १५ लाख ५१ हजार ७ सय ८१ रुपैयाँ बराबरको आय–व्यय प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वित्तीय स्थिति सुदृढ हुँदै गएको जानकारी दिएका थिए। “सहकार्य हाम्रो संस्कार, उन्नति र विकास हाम्रो अधिकार” भन्ने मूल नारा सहित आदर्श रात्री आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित साधारणसभामा  संस्थाका उपाध्यक्ष देवकिशोर चौधरीको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सहकारीका शेरर सदस्य भगवती चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे