राप्ती गाउँपालिकाको कृषि हाटबजारमा बत्ती जडान (समाचार प्रभाव)
भालुवाङ १२ मंसिर । दाङको राप्ती गाउँपालिका–३ सिरिचौर मसुरीयामा सञ्चालन हुँदै आएको कृषि हाट बजारमा बत्ती जडान गरिएको छ । केही दिनअघि देउखुरी टुडेले हाटबजारमा अन्धकार हुँदा मोबाइल बालेर ग्राहक र व्यापारी किनमेल गर्न बाध्य भन्ने शिर्षकको खबरदारी सहितको स्थलगत रिपोर्टिङ्ग गरेको झण्डै १५ दिनपछि हाटबजार परिसरमा ठुला–ठुला बत्ती जडान गरिएको छ । बत्ती जडान संगै हाटबजार पूर्ण रूपमा उज्यालो भएको छ । यससंगै हाटबजारमा किनमेल गर्न सहज भएको छ । राप्ती गाउँपालिका र बेस संस्थाको सहकार्यमा पहिलो चरणमा ६ वटा सर्फेस लाइट जडान गरिएको छ ।
यो वर्ष हाटबजार क्षेत्रको संरचना निर्माण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पहिलो चरणमा विद्युत व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार सो क्षेत्र वन क्षेत्र अन्तर्गत पर्ने भएकाले योजना अनुसार काम गर्न केही चुनौती रहेको छ । हाल सञ्चालन हुँदै आएको हाटबजारमा राप्ती गाउँपालिका मात्र नभई छिमेकी पालिकाका कृषकहरू समेत आफ्ना कृषि उपज बिक्रीका लागि आउने गरेका छन् । बत्ती जडान भएपछि हाटबजारको गतिविधि अझै व्यवस्थित हुने अपेक्षा राखिएको छ । साे कृषि हाटबजार साप्ताहिक रुपमा प्रत्येक शुक्रबार लाग्दै आएकाे छ ।
