सिसहनियाँका अमृत अधिकारीले आफ्नो जन्मदिनमा निलसागरलाई म्याट्रेस र तन्ना सहयोग गरे
सिसहनियाँ २५ भदौ । दाङको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँ निवासी अमृत अधिकारीले आफ्नो ३७ औं जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा म्याट्रेस र तन्ना सहयोग गरेका छन् ।
जन्म दिनको अवसर पारेर अधिकारीले बुधबार राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडामा रहेको निलसागर सेवा आश्रमलाई करिव २५ हजार ४ सय ५० रूपैयाँ बराबरको म्याट्रेस र तन्ना हस्तान्तरण गरेका छन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै अधिकारीले जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत सडक मानब आश्रितहरुलाई निलसागर सेवा आश्रममै पुगेर सो सामाग्री प्रदान गरेका हुन् ।
जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, हजुरबुवा अधिकारीले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता अनाथ, असाहयहरु बस्ने आश्रमहरुलाई सहयोग गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि यसरी नै जन्मदिन मनाउन सुझाब दिए । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने अधिकारीले बताए ।
आश्रममा आएर थोरै भए पनि जन्म दिनको अवसरमा सहयोग गरेकोमा निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले धन्यवाद दिनुका साथै जन्म दिनको शुभकामना दिएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, अधिकारीकी जिवनसंगिनी कमला न्याैपाने अधिकारी, छोरीहरू अनुष्का र अनुसा अधिकारीले पनि शुभकामना दिएका थिए ।


