अन्तराष्ट्रिय फिजियोथेरापी दिवसका अवसरमा खनालद्धारा निलसागरमा फलफूल वितरण
भालुवाङ २४ भदौ । अन्तराष्ट्रिय फिजियोथेरापी दिवसका अवसरमा दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको राप्ती फिजियोथेरापी एण्ड रिह्याविलिटेशन सेन्टरले निलसागर सेवा आश्रममा फलफूल वितरण गरेको छ ।
सोमवार राप्ती गाउँपालिका–८ मिलनडाँडामा रहेको निलसागर सेवा आश्रममा पुगेर सेन्टरकी सञ्चालक शान्ता खनालले फलफूल वितरण गरेकी हुन् । खनालले आश्रममा सडक आश्रित बुवा आमाहरूलाई स्वास्थ्यमा केहि फाइदा होस् भन्नका लागि फिजियोथेरापी दिवसको अवसरमा आफ्नै हातबाट फलफूल समेत खुवाइन् । सेन्टरका सञ्चालक शान्ता खनालको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा फलफूल वितरण कार्यक्रम भएको हो ।
सो अवसरमा गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसाल, आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै आएको छ । नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।


