लुम्बिनीका मुख्यमन्त्रीद्वारा तीजको शुभकामना : समाज रूपान्तरणका लागि तीज पर्व प्रेरणादायी बन्नुपर्छ
देउखुरी १० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताएका छन्।
उनले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य गर्दै आएको उल्लेख गरेका हुन्।‘तीज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेद लगायत असमानताहरूको अन्त्य गर्दै न्याय, समानता र समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने पर्वका रूपमा स्थापित छ’शुभकामना सन्देशमा भनिएको छ,‘ त्यसैले तीजलाई अवसरका रूपमा उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’
महिलाले आफ्ना दुःख, पीडा र खुसी साझा गर्ने भएकाले तीजले सामूहिकता, आत्मबल र आपसी एकता बलियो बनाउन ठूलो योगदान पु¥याउँदै आएको छ । मुख्यमन्त्री आचार्यले तीजलाई केवल धार्मिक मात्र नभई सामाजिक दृष्टिले समेत महत्वपूर्ण चाडको रूपमा व्याख्या गरेका छन् । मौलिक पर्वको सांस्कृतिक गरिमा जगेर्ना गर्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले तीज मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन आग्रह गरेका छन्।
नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणकोलागि तीज पर्व प्रेरणादायी बन्नुपर्ने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारले तीज पर्वको अवसरमा प्रदेशमा आज सार्वजनिक विदा समेत दिएको छ ।

