गढवामा अति विपन्न र असहाय महिलालाई लक्षित घर निर्माणका लागि सम्झौता
गढवा ५ भदौ। गढवा गाउँपालिका र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ बीच साझेदारीमा अति विपन्न, असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ। यस अन्तर्गत गढवा गाउँपालिकाभित्र विभिन्न वडामा घर निर्माण गरिनेछ। सम्झौताअनुसार पहिलो चरणमा आउँदो भदौ ८ गते आइतबार वडा नं. ४ निवासी प्रमिला चौधरीको घरको सिलान्यास गरिने भएको छ।
सम्झौताअनुसार गढवा गाउँपालिकामा सन २०२६ डिसेम्बर भित्र चारवटा घर निर्माण सम्पन्न गरिनेछ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको परियोजना अन्तर्गत ४ लाख २५ हजार रुपैयाँ, गढवा गाउँपालिकाको कार्यालयबाट २ लाख बराबरको सामग्री सहयोग, र घरमुलीको जनश्रमदान गरी ६ लाख ७८ हजार बराबरको लागतमा “एल आकारको घर” निर्माण गरिने केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिएकी छिन् । त्यसैगरी, परियोजनामार्फत गढवा गाउँपालिकाभित्रका १ सय ३० परिवारलाई लालपुर्जा प्राप्तिका लागि आवश्यक प्रक्रियाबारे साक्षरता अभिमुखी कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ। सो कार्यक्रम गढवा, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकामा सञ्चालन गर्ने तयारी भएको पनि अध्यक्ष चौधरीले बताइन्।
घर निर्माण हुन लागेकी प्रमिला चौधरी एकल महिला छिन्। छोरीको पढाइ खर्च जुटाउन उनी मजदुरी गर्दै आएकी छिन्। मजदुरीबाहेक अन्य आयस्रोत नभएकोले यो घर निर्माणले आफ्नो जीवनमा ठूलो राहत हुने उनले बताइन्। यस्तै, गढवा गाउँपालिका वडा नं. ५ कक्रहवाकी जिवी बिकको पनि आवास निर्माण हुने भएको छ। माइतीले दिएको एलानी जमिनमा झुप्रो घरमा बस्दै आएकी बिकले अहिले सम्म लालपुर्जा प्राप्त गर्न नसकेको बताइन्। वर्षातको समयमा पानी चुहिएर रातभर सुत्न नसक्ने र सर्प लगायतको डर हुने गरेको उनले दुखेसो पाेखिन्।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले असहाय, विपन्न र एकल महिलाका लागि आवास निर्माणलाई गाउँपालिकाको महत्वपूर्ण सामाजिक उत्तरदायित्वको रूपमा लिइएको बताए। उनले भने– “गाउँपालिकामा धेरै नागरिक अझै सम्म न्यून आयस्रोतका कारण उचित आवासमा बस्न सकिरहेका छैनन्। विपन्न वर्गका नागरिकलाई सुरक्षित घर उपलब्ध गराउनु भनेको उनीहरूको जीवनस्तर उकास्नु मात्र होइन, आत्मसम्मानसहित बाँच्ने वातावरण सिर्जना गर्नु हो।
यसका लागि गाउँपालिका सधैं प्रतिबद्ध रहन्छ।” अध्यक्ष पोख्रेलले थप भने– “यो आवास निर्माणले असहाय र एकल महिलाहरूलाई आशा दिलाउनेछ। एउटा सुरक्षित घरले बालबालिकाको पढाइमा सहजता ल्याउँछ, महिलालाई आत्मविश्वासी बनाउँछ, र गाउँमा सामाजिक न्यायको आधार बलियो बनाउँछ। यस्तो पहललाई निरन्तरता दिँदै गाउँपालिकालाई ‘सबैको घर–सुरक्षित गाउँ’ बनाउने हाम्रो लक्ष्य हो।” सम्झौता अनुसार गढवा गाउँपालिकामा चारवटा र राजपुर गाउँपालिकामा तीनवटा गरी कुल सातवटा आवास निर्माण हुने भएका छन्।

