सामुदायिक वन महासंघ बाँकेद्धारा अघैयामा अन्तक्रिया तथा तीज मिलन कार्यक्रम सम्पन्न
दाङ ३ भदौ । सामुदायिक वन संग अन्तरक्रिया तथा तीज मिलन कार्यक्रम बाँकेको राप्ती सोनारी गाउँपालिका–३,अघैया स्थित बैसा पिकनिक पार्कमा मंगलबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेको सहयोग उक्त कार्यक्रम सम्पन्न भएको हो ।

महासंघ बाँकेकी अध्यक्ष साबित्रा पुनको अध्यक्षता एवम् राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको प्रमुख आतिथ्यता तथा सोही गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूको विशिष्ट आतिथ्यतामा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पौडेलले सामुदायिक वनलाई मुलुकको समृद्धि संग जोड्न आवश्यक रहेको बताए । उनले सामुदायिक वनबाटै मुलुकलाई समृद्धि बनाउन सक्ने सम्भावना भएको हुँदा तीनै तहका सरकार र विभिन्न संघसंस्थाहरुले बिशेष महत्व दिनुपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघ नेपालका संघीय सचिव डिल्ली गिरीले समाज रुपान्तर र महिला नेतृत्व विकासमा महासंघले ठुलो भूमिका खेलेको बताए । उनले वन महासंघ जस्तै राज्यका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिता हुन सके मात्र मुलुक समाजबाद तर्फ उन्मुख हुने तर्क समेत गरे ।

यस्तै कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वनको संरक्षणमा महिलाहरुको सबै भन्दा ठुलो भूमिका रहेको बताइन् । उनले सामुदायिक वनलाई राज्यले उद्यम र पर्यटन विकास संग जोड्न आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा वन महासंघका दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनको हक, अधिकार र सवालमा सम्पूर्ण वनकर्मी एक ढिक्का रहेको बताए । उनले सामुदायिक वनको संरक्षणमा सबै भन्दा धेरै लगानी र श्रम आम उपभोक्ताहरुको रहेकोले कर तिर्ने बिषय आफूहरुका लागि अमान्य रहेको बताए ।

महासंघ बाँकेका उपाध्यक्ष रामबहादुर भण्डारीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेका डिभिजन प्रमुख शंकरप्रसाद गुप्ता, वन महासंघ र महासंघका बाँकेका पूर्व अध्यक्ष द्रोपती वली लगायतका वक्ताले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा वन महासघका लुम्बिनी प्रदेश महासचिव शोभाकर सापकोटा, प्रदेश सदस्यहरु अमृता नेपाल र महेन्द्रबहादुर शाही लगायतको समेत बिशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव कर्णबहादुर बिकले गरेका थिए ।










