कृषि वनमा आधारित उद्यमशीलतामा कानुनी जटिलता रहेको सरोकारवालाहरुको निष्कर्ष
दाङ ३ भदौ । ग्रीन फाउण्डेशन नेपालले सोमबार दाङको तुलसीपुरमा आयोजना गरेको वन, संघीयता र स्थानीय हरित अर्थतन्त्र विषयक अन्तरप्रदेशस्तरीय संवाद कार्यक्रममा बोल्ने सरोकारवालाहरू कृषि वनमा आधारित उद्यमशीलतामा सञ्चालन गर्न कानुनी जटिलता रहेको बताएका छन् । वक्ताहरुले वन तथा कृषिजन्य सामग्रीलाई आधार बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने र त्यसका लागि तीनै तहका सरकारबीचको समन्वय आवश्यक रहेको धारणा राखेका थिए । त्यस्तै सहभागीहरुले उद्यम सञ्चालनमा भएका समस्या समाधानमा राज्यका निकायहरुको जवाफ मागेका थिए ।

संवाद कार्यक्रममा आफ्नो धारणा राख्दै बागमती प्रदेशसभा सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निर्वतमान अध्यक्ष भारती पाठकले नयाँ वन ऐन ल्याउने तयारी भइरहेको जनाउँदै सरकारी भवन निर्माण गर्दा अनिवार्यरुपमा स्थानीय काठ प्रयोग गर्नुपर्ने नीति राखिएको जानकारी दिइन् । उनले मुलुकलाई समृद्ध बनाउन कृषि र वनमा आधारित उद्यमशिलता सञ्चालन गर्न आवश्यक रहेको बताए । सांसद पाठकले त्यसका लागि वन ऐनमा कानुनी व्यवस्था सहित तीन तहका सरकारले तप्परता देखाउनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा तुलसीपुर उप–महानगरपालिकाका मेयर टीकाराम खड्काले कृषि वनमा आधारित उद्यमशीलतालाई प्रवद्र्धन गर्न बाँस खेतीदेखि वनजन्य कच्चापदार्थ प्रयोग गरी उद्योग सञ्चालन गर्न थालिएको उल्लेख गर्दै तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले स्थानीय सरकारले काम गर्न खोजेपनि कानुन बाधक बन्ने आरोप लगाए ।

सामुदायिक वन उपभोक्ता महासंघका संघीय उपाध्यक्ष मोहम्मद कर खाँले सामुदायिक वनलाई उद्यम दर्ता सजिलै गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले तीनवटै तहका सरकारबीच सहकार्यभन्दा पनि एकअर्कामाथि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गरे ।
यस्तै सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वन समूहमा तीनै तहका सरकारले कर मात्र लाद्ने थलो बनाएको आरोप लगाए । उनले पहिले सामुदायिक वन समूहलाई उद्यमशिलता संग जोडेर आत्मानिर्भर बनाए मात्र करको बिषयमा सोच्न सकिने बताए । अध्यक्ष भण्डारीले तीनै तहका सरकारले वनलाई आम्दानीको रूपमा कर लाद्ने तर उद्यमशिलता तर्फ ध्यान नदिने प्रबृति गलत भएको बताए ।

कार्यक्रममा ग्रीन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपालकै उत्पादनलाई अधिकतम प्रयोग गर्नुपर्ने बताए । उनले आयातित वस्तुको विकल्पमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न उत्पादन र बजार व्यवस्थापनमा जोड दिनुपर्ने उल्लेख गरे । यसका लागि तीनवटै तहका सरकारले आवश्यक नीति तथा ऐन निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

ग्रीन फाउण्डेसन नेपाल दाङका अध्यक्ष बिष्णु केसीको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारी मार्फत किसानसँग जोडिएर नागरिकको जीवनस्तर सुधार गर्दै सहकारीले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने धेरै प्रयास गरे पनि ऐन कानुन बाधक बनेको उहाँले गुनासो गरे । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले उपभोक्ता समूहले दुनाटपरी, जैविक मलजस्ता उद्यम सञ्चालन गरे पनि अपेक्षित आम्दानी हुन नसकेको बताए । ग्रीन फाउण्डेसन नेपाल पर्वतका अध्यक्ष खुम सुवेदीले स्थानीय कच्चापदार्थलाई प्रयोग गरेर रोजगार सिर्जना भइरहेको बताए ।

कार्यक्रममा धौलागिरी नगरपालिका काँभ्रेका मेयर असोक बेन्जु, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका निर्वतमान केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्का, डिभिजन वन कार्यालयका वन अधिकृत श्यामदेव यादव, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसी, ढकिया महिला उद्यमी शर्मा चौधरीलगायतले आफ्ना धारणा राखेका थिए ।

यस्तै कार्यक्रममा तुलसीपुर नगर युवा सञ्जालका सदस्य शुभम् देवकोटा, सञ्जाल कै सदस्य रेजिना मियाँ लगायतका युवाहरूले आ–आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण प्राध्यापक तथा सञ्चारविज्ञ बसन्तविबिश आचार्य र पत्रकार सुधासुमन ढकालले गरेका थिए । संवादको पूर्व सन्ध्या अन्तर्गत बिहानी सत्रमा तुलसीपुर क्षेत्रमा रहेका विभिन्न उद्यमशिलता संग जोडिएको मेट्रो कलेज तुलसीपुर, हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था दंगीशरण र राप्ती शान्ति उद्यान (गणेश पार्क) हरूको स्थलगत निरक्षण तथा अनुभव आदान–प्रदान समेत गरिएको थियो ।











