दुर्गा भवानी विद्यालयको स्थलगत अनुगमन : शिक्षाको गुणस्तर सुधारमा जोड
सिसहनियाँ ७ साउन। दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले वडा नं. ३ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालय मसुरियाको स्थलगत अनुगमन गरेका छन्। विद्यालयको शैक्षिक र भौतिक अवस्थाबारे जानकारी लिन गरिएको उक्त अवलोकनका क्रममा अध्यक्ष विष्टले विद्यालयमा सञ्चालन भइरहेका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूको निरीक्षण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष विष्टले माथिल्लो कक्षाका विद्यार्थीहरू सहभागी हुने गरी ‘परियोजना कार्य’ अन्तर्गत “सृजनशीलता सदा मोबाइल बिदा” कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । साथै अभिभावकसँगको भेटघाट तथा साक्षात्कार कार्यक्रमलाई अझ प्रभावकारी र नियमित बनाउन निर्देशन दिए। बालविवाह न्यूनीकरणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखासँग समन्वय गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, अध्यक्ष विष्टले विद्यालयले तयार पारेको विद्यार्थीहरूको पारिवारिक पृष्ठभूमि झल्किने सिर्जनात्मक तथ्याङ्क प्रकाशन कार्यको प्रशंसा गरे। उनले उक्त तथ्याङ्क संकलन कार्यलाई नवीन प्रयासको रूपमा उल्लेख गर्दै, अन्य विद्यालयहरूलाई पनि यस्तो अभ्यास अपनाउन आग्रह गरे।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विकले विद्यालयले सञ्चालन गर्दै आएका कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक स्तर मात्र नभई सामाजिक चेतनाको वृद्धिमा पनि सहयोग पुर्याउने बताए। विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यले गाउँपालिका अध्यक्षको उपस्थितिले विद्यालय परिवारलाई थप प्रेरणा मिलेको बताए। उनले गाउँपालिकाले देखाएको चासो र मार्गदर्शनले आफूहरूलाई अझ जिम्मेवार र सशक्त ढंगले काम गर्न हौसला मिलेको बताउदै विद्यालयको शैक्षिक वातावरण सुधार तथा सिर्जनशील कार्यक्रम विकासमा आगामी दिनमा अझ ध्यान दिने प्रतिबद्धता समेत जनाए। पालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउने र देखिएका समस्याहरू समाधान गर्ने उदेश्यले सञ्चालन गरेको विद्यालय अनुगमन कार्यलाई नियमित रुपमा सञ्चालन गरिरहेको छ।

