सञ्चारकर्मी र सञ्चार माध्यमको अवस्था, चुनौती र भविष्य
सूचना, सञ्चार र प्रविधिको युगमा सञ्चारकर्मी र सञ्चार माध्यमको भूमिका झनै महत्त्वपूर्ण बनेको छ। लोकतन्त्र, सामाजिक न्याय, जनचेतना र नागरिक अधिकार प्रवद्र्धनमा सञ्चार क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। यद्यपि, नेपाल लगायत विश्वका अधिकांश मुलुकहरूमा सञ्चार क्षेत्रले राजनीतिक हस्तक्षेप, आर्थिक असहजता, प्रविधिको तीव्र विकास र सूचना प्रदूषणका कारण अनेकौं चुनौतीहरूको सामना गरिरहेको छ ।
१. सञ्चारकर्मी र सञ्चार माध्यमको वर्तमान अवस्था
नेपालमा सञ्चारको इतिहास लामो भए तापनि प्रिन्ट, रेडियो, टेलिभिजन र डिजिटल सञ्चारको विकास पछिल्ला दुई दशकमा तीव्र गतिमा भएको हो । हाल देशभर हजारौं पत्रकार, सञ्चारकर्मी तथा हजारौं संचारमाध्यम (रेडियो, पत्रिका, अनलाइन पोर्टल, टेलिभिजन) क्रियाशील छन् । तर यी मध्ये धेरै जसो आर्थिक, संरचनात्मक र व्यवस्थापनको दृष्टिले कमजोर अवस्थामा छन् ।
(क) आर्थिक अवस्था
धेरै सञ्चार माध्यम विज्ञापनमा अत्यधिक आश्रित छन्। निजी क्षेत्रका सञ्चार संस्थाहरू दिगो आम्दानीको स्रोत नहुनाले कर्मचारीको तलब, सुविधा र सुरक्षामा कटौती गरिएको देखिन्छ । कतिपय पत्रकारले त महिनौं तलब नपाउने अवस्था पनि छ ।
(ख) पेशागत अवस्था
नेपालका धेरै सञ्चारकर्मीहरू पेशागत सुरक्षा, तालिम र संरचना अभावमा कार्यरत छन् । ठोस श्रमसम्बन्धी सम्झौता नभएको, सामाजिक सुरक्षा कोषमा समावेश नगरिएको तथा बीमा सुविधा नपाएको स्थिति अझै पनि विद्यमान छ ।
(ग) राजनीतिक हस्तक्षेप
धेरै सञ्चारमाध्यम कुनै न कुनै राजनीतिक दल, नेताको प्रभावमा चल्ने गरेको पाइएको छ । यसको कारणले निष्पक्ष पत्रकारिता कमजोर हुने, जनपक्षीय समाचार ओझेलमा पर्ने स्थिति सिर्जना भएको छ ।
२. मुख्य चुनौतीहरू
सञ्चारकर्मी र सञ्चार माध्यमहरू आज विभिन्न चुनौतीहरूको घेरामा छन्, जुन तिनीहरूको स्वतन्त्रता, विश्वसनीयता र दीगो अस्तित्वका लागि गम्भीर खतरा बन्न सक्छन् ।
(क) सूचना प्रवाहमा विकृति
सोसल मिडिया र अनलाइन प्लेटफर्मको अत्यधिक प्रयोगसँगै झुठा समाचार, अपुष्ट सूचनाको बाढी आएको छ । पत्रकारिताको मूल मर्मअनुसार तथ्यमा आधारित समाचार दिनुपर्नेमा ‘भ्यूज र क्लिक’को दौडमा तथ्यहीन र भडकाउ सामग्री बढी प्रशारण हुने गरेका छन् ।
(ख) सामाजिक–राजनीतिक दबाब
पत्रकारितामा स्वतन्त्रताको कुरा भए पनि व्यवहारमा सञ्चारकर्मीहरूले राजनीतिक, आर्थिक तथा सामाजिक दबाब झेल्नुपरेको अवस्था देखिन्छ । विशेषगरी संवेदनशील विषयमा रिपोर्टिङ गर्दा धम्की, आक्रमण वा बहिष्कारसम्मको अवस्था आउँछ ।
(ग) आर्थिक असहजता र बेरोजगारी
कोरोना महामारीपछि धेरै सञ्चार संस्थाहरूले कर्मचारी कटौती गरेका छन् । नयाँ सञ्चारकर्मीलाई रोजगारीको अवसर कम हुँदै गएको छ । अनुभवी पत्रकार पनि आर्थिक कठिनाइका कारण पेशा परिवर्तन गर्न बाध्य भएका छन् ।
(घ) प्रविधिको चुनौती
डिजिटल प्रविधिमा आएको तीव्र परिवर्तनले परम्परागत सञ्चार माध्यमलाई चुनौती दिएको छ । अबको पत्रकारिता केवल लेखेर मात्र नभई भिडियो, ग्राफिक्स, डेटा विश्लेषण, एआई सञ्जालहरूसँग तालमेल गरेर अघि बढ्नुपर्ने अवस्था छ । तर, धेरै सञ्चारकर्मी आवश्यक प्रविधिक तालिम र पहुँचबाट वञ्चित छन् ।
३. सकारात्मक पक्ष र सम्भावना
चुनौतीबीच पनि नेपाली सञ्चार क्षेत्रमा केही सकारात्मक परिवर्तनहरू देखिएका छन् । डिजिटल माध्यमको विस्तारले समाचारलाई तिव्र, सुलभ र पहुँचयोग्य बनाएको छ ।
(क) नयाँ पुस्ताको उत्साह
सञ्चार अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढ्दो छ । नयाँ पुस्ता खोजमुखी पत्रकारितातर्फ आकर्षित हुँदैछ, जसले अनुसन्धानमूलक लेखनमा योगदान दिन थालेको छ ।
(ख) प्रविधिमा सशक्तीकरण
कसै–कसैले प्रविधिलाई अवसरको रूपमा उपयोग गर्दै स्वतन्त्र डिजिटल प्लेटफर्म, युट्युब च्यानल, अनलाइन पोडकास्टमार्फत पत्रकारितामा नविनता ल्याएका छन्। यसले स्वतन्त्र अभिव्यक्ति र आर्थिक दिगोपनाको सम्भावना पनि बोकेको छ ।
(ग) सञ्चार माध्यमको विस्तार र पहुँच
टेलिभिजन, अनलाइन पोर्टल, रेडियो र मोबाइल एप्सहरू मार्फत देशका दुर्गम स्थानसम्म सूचनाको पहुँच पुगेको छ । यसले नागरिक सशक्तिकरण र स्थानीय मुद्दालाई मुख्यधारमा ल्याउने अवसर सिर्जना गरेको छ ।
४. भविष्यको दिशा र सम्भावित सुधारहरू
सञ्चार माध्यम र सञ्चारकर्मीले दीर्घकालीन रुपमा जनमुखी, सत्यकेन्द्रित, स्वतन्त्र र दिगो बन्नको लागि केही आधारभूत पक्षमा सुधार गर्न आवश्यक छ ।
(क) नैतिकता र जिम्मेवार पत्रकारिता
पत्रकारिता सत्य, निष्पक्षता र जनताको पक्षमा उभिनुपर्ने पवित्र पेशा हो। त्यसैले ‘सेन्सेशनलिज्म’ वा भड्काउ सामग्रीलाई निरुत्साहित गर्दै अनुसन्धानमूलक, तथ्यमा आधारित रिपोर्टिङलाई प्रवद्र्धन गर्नुपर्छ ।
(ख) प्रविधि र दक्षता विकास
डिजिटल युगमा पत्रकारले भिडियो सम्पादन, डेटा विश्लेषण, ग्राफिक डिजाइन, मोबाइल जर्नालिज्म लगायत प्रविधिमा दक्ष हुन आवश्यक छ । पत्रकारिता शिक्षामा समयअनुकूल पाठ्यक्रम, नियमित तालिम र व्यावसायिक अभ्यासको संयोजन आवश्यक छ ।
(ग) सञ्चारकर्मीको सुरक्षा र अधिकार
पत्रकार माथि हुने आक्रमण, धम्की, दुव्र्यवहार विरुद्ध कडा कानुनी संरक्षण आवश्यक छ । साथै सञ्चारकर्मीहरूको श्रम अधिकार सुनिश्चित गर्दै बीमा, सामाजिक सुरक्षा, पेशागत स्थायित्वको ग्यारेन्टी गर्न राज्य र सञ्चार गृह दुवैले जिम्मेवारी लिनुपर्छ ।
(घ) नीतिगत सुधार र विज्ञापन नीति
सरकारी विज्ञापन वितरणमा पारदर्शिता, समावेशीता र मापदण्ड आवश्यक छ । प्रेस काउन्सिल, पत्रकार महासंघ जस्ता निकायलाई थप सबल बनाउँदै अनियमितता नियन्त्रण गर्न जरुरी छ ।
निष्कर्ष
सञ्चारकर्मी र सञ्चार माध्यम लोकतन्त्रका मेरुदण्ड हुन् । यिनीहरूको अवस्था मजवुत हुनु भनेको लोकतन्त्रको जरा गहिरो हुनु हो । तर, वर्तमान परिवेशमा उनीहरू गम्भीर चुनौतीको घेरामा छन् । यस्ता चुनौतीको सामना गर्न दीर्घकालीन नीति, राज्यको सहयोग, सञ्चार संस्थाको उत्तरदायित्व, र पत्रकारहरूको व्यावसायिक निष्ठा अपरिहार्य छ । सकारात्मक परिवर्तनका संकेत देखिँदै गएका छन्, तर यी परिवर्तनलाई संस्थागत बनाएर नेपाली पत्रकारिता क्षेत्रलाई प्रविधिसँग सँगै हिँड्ने, आर्थिक रूपमा सक्षम र जनउत्तरदायी बनाउने दिशामा ठोस कदम चाल्नु आजको आवश्यकता हो । पत्रकार मात्र रिपोर्टर होइनन्, उनीहरू समाज परिवर्तनका अभियन्ता पनि हुन् । त्यसैले सञ्चारकर्मी र सञ्चार माध्यमको उज्यालो भविष्य निर्माण हाम्रो साझा दायित्व हो ।

