राप्ती गाउँपालिका वडा नं. ८ पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
भालुवाङ ३२ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ लाई बुधबार एक समारोहका बीच बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
गाउँपालिकाको पहिलो वडाको रूपमा ८ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष सुन्दरबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यानर पढेर बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष विष्टले वडा नम्बर ८ पालिकामै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुनु गौरवको विषय भएको बताउँदै बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न राज्यका तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्री शासन व्यवस्था भएको उल्लेख गरे । त्यस्तै उनले बालमैत्री स्थानीय शासनका लागि तय गरिएका ५१ वटा सूचकलाई गम्भीरताका साथ कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । साथै बालबालिका भविष्यका कर्णधार भएकोले तिनका क्षेत्रमा लगानी बढाउनु आजको आवश्यकता भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरीले बालमैत्री वडा घोषणा कार्यक्रम एक ऐतिहासिक कार्य भएको उल्लेख गर्दै यसलाई दिगोपना दिन सबैको सहभागिता आवश्यक रहेको बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समितिका संयोजक देविराम पाठकले नेपालको संविधानले समानता र बाल अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै तीनै तहका सरकारले बालबालिकालाई केन्द्रमा राखेर नीति, रणनीति र कार्यक्रम बनाउनु पर्ने धारणा राखे । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसीका अनुसार विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा पुगेका छन् । वडामा बालविवाह र बालश्रम छैन, सबै बालबालिकाले पूर्ण खोप पाएका छन्, पाँच वर्ष मुनिका सबैको जन्मदर्ता बनाइएको छ, बालमैत्री पूर्वाधारहरू निर्माण गरिएका छन् । उनका अनुसार ५१ वटा सूचकमध्ये ४५ सूचक सत प्रतिशत र बाँकी ६ सूचकमा ९५ देखि ९७ प्रतिशतसम्म प्रगति देखिएको हुँदा वडा लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडाले २०८० सालको असार महिनादेखि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीका विभिन्न चरणमा सघन रूपमा काम अगाडि बढाएको थियो । गाउँपालिकाभित्र १ पालिका स्तरीय, ८ वटा वडा स्तरीय बाल सञ्जाल र वडा अनुसार टोलस्तरमा बाल क्लबहरू गठन गरिएका छन् ।
विभिन्न संरचनागत समितिमा हाल २५० जना बालबालिकाको सहभागिता रहेको छ । पूर्णखोप घोषणा, पूर्ण साक्षरता घोषणा लगायतका पक्षमा समेत प्रगति हासिल गरी नेपाल सरकारद्वारा तय गरिएका मापदण्ड अनुसारको सूचकमा आधारित मूल्याङ्कन पश्चात बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको शाखा प्रमुख जिसीले जानकारी दिइन् । घोषणा कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । पालिकाले अन्य वडाहरूलाई पनि क्रमशः बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै अन्तमा पालिकालाई नै घोषणा गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, विद्यालयका प्रधानाध्यापक, महिला स्वयंसेविका, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विकले गरेका थिए ।
