राप्ती गाउँपालिकामा सरसफाई रनिङ शिल्ड प्रतियोगिता : वडा नं. १ प्रथम
भालुवाङ ३२ असार । दाङको राप्ती गाउँपालिकामा बुधवार सरसफाइ रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्य सहित सुरु गरिएको सरसफाई अभियान अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा वडा नम्बर १ प्रथम र वडा नम्बर ८ द्वितीय भएका छन् । प्रतियोगितामा प्रथम हुने वडाले १ लाख रुपैयाँ बराबरको सरसफाई सामग्री सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने वडाले ५० हजार बराबरको सरसफाई सामग्री र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै वडा तहका उत्कृष्ट टोल विकास संस्थाहरूलाई समेत नगद २०÷२० हजार रुपैयाँ र प्रमाणपत्र सहित सम्मान गरिएको छ । त्यसै गरी सरसरफाईमा योगदान गरेका विभिन्न संघसंस्थालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने ट्याक्टर चालक, सरसफाईकर्मीलाई नगद १ हजार ५ सय रुपैयाँ सहित पुरस्कृत गरिएको थियो । सार्वजनिक सरसफाईमा देखिएको जागरण र सहभागिता अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
मूल्यांकनका क्रममा खुला दिसामुक्त अवस्था, सार्वजनिक स्थानहरूमा सरसफाईको अवस्था, विद्यालय र स्वास्थ्य संस्थामा साबुन तथा पानीको पहुँच, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, टोल तथा वडा सौन्दर्यकरण, नियमित मासिक सरसफाई बैठक तथा सरसफाई कार्यक्रमको संख्या सहित १२ वटा सूचकलाई आधार बनाइएको थियो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सरसफाइलाई अब समुदायको संस्कारको रूपमा विकास गर्न आवश्यक रहेको बताए । अध्यक्ष विष्टले गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने मार्गमा सबैको साझा प्रतिबद्धता जरुरी भएको उल्लेख गरे । उनले अबका दिनमा टोल विकास संस्थालाई थप सशक्त र गतिशील बनाउँदै यस्ता अभियानलाई निरन्तरता दिन जानकारी दिए ।
त्यस्तै उपाध्यक्ष कमलापति चौधरीले प्रतियोगिताबाट वडाहरू बीच सकारात्मक प्रतिस्पर्धा सुरु भएको बताउँदै, सरसफाई स्वास्थ्य र वातावरण सँग जोडिएको संवेदनशील विषय भएकाले यसमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सरसफाई अभियानलाई प्रभावकारी बनाउने कार्यमा समुदाय र स्थानीय सरकार बीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई नियमित सरसफाईमा सहभागी हुन आग्रह गरे । कार्यक्रममा वडाध्यक्षहरू, सरोकारवाला निकाय, टोल विकास संस्थाका प्रतिनिधिहरू, पालिकाका कर्मचारी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सरसफाईलाई दिगो अभ्यास बनाउँदै लैजान ‘सरसफाइ रनिङ शिल्ड प्रतियोगिता’ उपयोगी माध्यम भएको सहभागीहरूको धारणा छ । राप्ती गाउँपालिकाले करिव १ वर्ष अगाडी वडा नम्बर २ को पुण्यपुरमा सरसफाई केन्द्र स्थापना गरि प्लाष्टिकजन्य फोहोरबाट इन्टरलक टायल उत्पादन गर्दै आएको छ । कार्यक्रमाको सञ्चालन आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गरेका थिए ।
