बालप्रगति प्राथमिक विद्यालयमा पर्खाल निर्माण भएपछि पहिरोकाे जोखिम हट्याे



बालप्रगति प्राथमिक विद्यालयमा पर्खाल निर्माण भएपछि पहिरोकाे जोखिम हट्याे

भालुवाङ २५ असार । दाङको राप्ती गाउँपालिका–९ स्थित तल्लो घोषखोलामा रहेको बालप्रगति प्राथमिक विद्यालय पर्खाल निर्माणपछि सुरक्षित बनेको छ। पहाडी भू–भागमा अवस्थित यो विद्यालय नजिकै गएको पहिरोका कारण विगतका वर्षहरूमा उच्च जोखिममा परेको थियो।

विद्यालयको दीर्घकालीन सुरक्षाका लागि प्रदेश सरकारको आर्थिक सहयोगमा करिब १ सय मिटर ग्याभिन जाली (पर्खाल) निर्माण गरिएको हो। उक्त पर्खालले वर्षायाममा बग्ने माटो, ढुंगा र पहिरोलाई रोक्न महत्वपूर्ण भूमिका खेलेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले पर्खाल निर्माणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। निर्माण कार्य भ्लेजर्स विल्डर्स एण्ड सप्लायर्स प्रा.लि., रोल्पाले सम्पन्न गरेको हो। पर्खाल निर्माणसँगै विद्यालयको भौतिक संरचना मात्र नभई प्राङ्गण समेत सुरक्षित बनेको छ। अब अभिभावक र शिक्षकहरूमा विगतमा जस्तो पहिरोको डर नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर कवरले बताए। उनले भने, “वर्षा सुरु भएलगत्तै पहिरोको डर हुन्थ्यो, तर अहिले पर्खाल बनेपछि हामी ढुक्क भएका छौं।”

विद्यालय परिसरलाई सुरक्षित बनाउँदै वातावरण संरक्षणका लागि पनि विद्यालयमा वृक्षारोपण गरिएको छ। आँप, अम्बा, लिची लगायतका १ सयभन्दा बढी विरुवा रोपिएको छ। वृक्षारोपण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, आर्थिक प्रशासन शाखा प्रमुख लेखा भण्डारी, ईन्जिनियर अशोक बेल्बासे, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।भूक्षय नियन्त्रण तथा हरियाली प्रवर्द्धनका लागि बास, अमृसो लगायतका अन्य उपयोगी विरुवा पनि रोप्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बालप्रगति विद्यालयको भौगोलिक अवस्था तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक बजेटको व्यवस्था गरी काम सम्पन्न गरिएको जानकारी दिए। उनले विद्यालय सुरक्षित हुँदा पढाइमा सकारात्मक असर पर्ने विश्वास पनि व्यक्त गरे। हाल बालप्रगति विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन्। पर्खाल निर्माणपश्चात विद्यालयमा अब पठनपाठन सहज र सुरक्षित वातावरणमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे