राप्ती गाउँपालिकाका ५ सय ५५ घरपरिवारलाई सुधारिएको चुलो वितरण



राप्ती गाउँपालिकाका ५ सय ५५ घरपरिवारलाई सुधारिएको चुलो वितरण

भालुवाङ २५ असार। दाङको राप्ती गाउँपालिकामा लक्षित वर्गका परिवारहरूलाई स्वच्छ ऊर्जा प्रवर्द्धनको उद्देश्यसहित सुधारिएको चुलो वितरण गरिएको छ।

राप्ती गाउँपालिका, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC) तथा उपभोक्ताको साझेदारीमा सञ्चालित कार्यक्रममा गाउँपालिका भित्रका ५ सय ५५ घरपरिवारलाई तह–३ को विद्युतीय पंखा सहितको सुधारिएको चुलो वितरण गरिएको हो। चुलो भूमिहीन दलित, सुकुम्बासी, मुक्त कमैया, अति विपन्न, पछाडि परेका समुदाय तथा एकल महिला जस्ता लक्षित वर्गका परिवारहरूलाई वितरण गरिएको छ।

गाउँपालिकाका स्वच्छ ऊर्जा प्रवर्द्धनका फोकल पर्सन बालचन्द्र गुरुङका अनुसार बुधबार वडा नम्बर १, ३,४ र ८ मा बसोबास गर्ने लाभग्राहीहरूलाई चुलो वितरण गरिएको छ भने अन्य वडाहरूमा पनि क्रमश वितरण गरिने छ। चुलो वितरण कार्यक्रम लागत साझेदारीमा आधारित रहेको छ। चुलोको कुल मूल्यमध्ये १५ प्रतिशत रकम सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले व्यहोरेको छ भने ५ प्रतिशत अर्थात् ३ सय रुपैयाँ उपभोक्ताले तिर्ने व्यवस्था गरिएको छ। बाँकी लागत अन्य साझेदार निकायहरूले व्यहोरेका छन् । यस अघि गाउँपालिकाले एक महिना अघिनै सूचना प्रकाशित गरी आवेदन सङ्कलन गरेको थियो। प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य लाभग्राही छनोट गरिएको हो।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सुधारिएको चुलो वितरण कार्यक्रमले वातावरण प्रदूषण घटाउने, दाउराको खपत कम गर्ने र आमाबुबा तथा बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे। “स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र सँग गतवर्षै सम्झौता गरिएको हो,” अध्यक्ष बिष्टले भने, “यही सम्झौताको निरन्तरतास्वरूप सुधारिएको चुलो वितरण गरिएको हो। आगामी दिनहरूमा इन्डक्सन चुलो, बायोग्याँस तथा थप सुधारिएको चुलो पनि अन्य समुदायका घरपरिवारलाई क्रमश वितरण गरिनेछ।” स्वास्थ्य तथा वातावरणमैत्री प्रविधिको पहुँच विस्तार गर्दै लैजान राप्ती गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ। यस कार्यक्रमले स्वच्छ ऊर्जा पहुँचलाई व्यापक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे