सिसहनियाँ सामुदायिक सिकाई केन्द्रले महिलाहरुलाई उद्यमी बनाउँदै



सिसहनियाँ सामुदायिक सिकाई केन्द्रले महिलाहरुलाई उद्यमी बनाउँदै

भालुवाङ २४ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सञ्चालन गरिएको सर्फ बनाउने तालिमले स्थानीय महिलाहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपेको छ । घरायसी खर्चमा केही राहत पुग्ने र साना उद्यम मार्फत आम्दानीको बाटो खुलेको महसुस उनीहरूले गरेका छन् ।

राप्ती गाउँपालिकाको सहयोगमा सिसहनियाँ सामुदायिक सिकाई केन्द्रले सर्वोदय माध्यामिक विद्यालयमा सञ्चालन गरेको २ दिने सर्फ बनाउने तालिममा सिकाई केन्द्रमा आवद्ध १६ वटा समुहका ३२ जना महिलाहरूले सहभागिता जनाएका थिए । तालिममा घरेलु प्रयोजनका लागि सर्फ बनाउने तरिका, आवश्यक सामग्री, मापन, गुणस्तर सुधार तथा सुरक्षित प्रयोगबारे व्यावहारिक रूपमा सिकाइएको थियो । तालिममा सहभागी महिलाहरुले सिप सिक्न पाएकोमा निकै खुसी छन् । “पहिला बजारबाट किनेर ल्याउँथ्यौं, अहिले आफैं बनाउन सक्ने भयौं, अझ अरूलाई बेच्न पनि सकिन्छ भन्ने आँट आएको उनीहरु बताउँछन् ।” सके आफै गर्ने नसके समुह मार्फत व्यवसायी सञ्चालन गर्ने योजना सहभागी महिला शारदा पोख्रेलको भनाई छ ।

महिलाहरूलाई सस्तो मूल्यमा गुणस्तरीय सर्फ बनाउने सीप दिइएको छ, जुन उनीहरूले घरेलु प्रयोगसँगै व्यवसायमा विस्तार गर्न सक्ने गरी तालिम सञ्चालन गरेको सिकाई केन्द्रका उपाध्यक्ष गणेश कुमार चौधरीले बताए । तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । चौधरीले भने, “महिलाहरूलाई सीप दिएर स्वरोजगारतर्फ उन्मुख गराउने हाम्रो योजना हो, सर्फ तालिम त्यसकै एक भाग हो उपाध्यक्ष चौधरीले भने ।” तालिमपछि महिलाहरूले साना समूह बनाएर सर्फ उत्पादन गर्ने योजना बनाएका छन् । तालिमको प्रशिक्षकमा केशर सापकोटा रहेका थिए । यस किसिमका सीपमूलक तालिमले ग्रामीण महिलाहरूमा उद्यमशीलताको विकास हुनुका साथै परिवारको आर्थिक उन्नतीमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सर्फ बनाउने २ दिने तालिम सम्पन्न
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सञ्चालित २ दिने सर्फ बनाउने तालिम मंगलवार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाको सहयोगमा सिसहनियाँ सामुदायिक सिकाई केन्द्रले सर्वोदय माध्यामिक विद्यालयमा सञ्चालन गरेको २ दिने सर्फ बनाउने तालिम सम्पन्न भएको हो । केन्द्रका उपाध्यक्ष गणेश कुमार चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले यस्ता तालिमले गाउँलाई बाह्य उपभोगबाट आत्मनिर्भरता तर्फ लैजाने तर्क राख्दै महिलाको उत्पादनशील भुमिकाको प्रशंसा गरे । साथै उहाँले सिकेको सिपलाई व्यवहारमा लागु गर्दै उद्यमशील बन्न आग्रह गरे ।

सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, सर्वोदय मावि सिसहनियाँका प्रधानाध्यापक विनोद कुमार गुप्ता, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, सिसहनियाँ सामुदायिक सिकाइ केन्द्रका सदस्य मंगलप्रसाद चौधरी, प्रशिक्षक केशर सापकोटा लगायतका वक्ताहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रका कोषाध्यक्ष रामप्रसाद चौधरीले गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे