गढवामा साना किसान तथा युवा उद्यमशीलता परियोजनाको अनुगमन सम्पन्न
गढवा २३ असार । गढवा गाउँपालिका वडा नं. ७ मा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजनाको पालिका स्तरीय अनुगमन आज सम्पन्न भएको छ।
कृषि तथा पशुपालनमा आधारित विभिन्न कार्यक्रमहरूको मूल्यांकन तथा प्रभावकारिता अवलोकन गर्न पालिकास्तरीय टोली खटिएको हो। गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहकार्य र ग्रामीण महिला उत्थान केन्द्र, घोराही दाङको समन्वयमा सञ्चालित उक्त परियोजनाले स्थानिय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिँदै आएको छ। परियोजनाअन्तर्गत गठित किसान समूहहरूले पशुपालन, तरकारी खेती, क्षमता अभिवृद्धि तालिम, तथा आयआर्जनमुखी कार्यक्रमहरू सञ्चालन गरेका छन्। अनुगमनका क्रममा किसानहरूले परियोजनाबाट आफ्नो जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनको अनुभव सुनाएका थिए।
उनीहरूले विभिन्न कार्यक्रमबाट सीप अभिवृद्धि भएको, उत्पादनमा वृद्धि आएको र आम्दानीमा समेत सुधार भएको जनाएका थिए। समितिले किसानहरूको सक्रियता र सफलताप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सिफारिस गरेको छ। यसै क्रममा आज पालिकास्तरीय परियोजना अनुगमन तथा समन्वय समितिको बैठक समेत सम्पन्न भएको छ। बैठकमा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल, वडा नं. १, ४ र ८ का अध्यक्षहरू बाबुराम अधिकारी, हरीभगत चौधरी र अब्दुल खालिक सिद्दीकी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, हेफर प्रोजेक्ट नेपालका भीटा परियोजना प्रमुख दुर्गा बहादुर के.सी., क्षेत्रीय प्रबन्धक प्रकाश के.सी., हेफर इन्टरनेशनल नेपालका किशोर काफ्ले, ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी, कृषि शाखा प्रमुख कर्ताराम यादव, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख अनन्तराज रेग्मी, भिटा परियोजना संयोजक बसन्त कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले सामाजिक परीक्षणसम्बन्धी प्रस्तुति राखेका थिए।
