गोरखा आइडियल स्कुलद्वारा एसईईमा उत्तीर्ण हुने विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान
भालुवाङ १४ असार । दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको गोरखा आइडियल स्कुल लालमटियाले एसईईमा उत्तीर्ण हुने विद्यार्थी, अभिभावक र शिक्षकलाई बधाई सहित सम्मान गरेको छ ।
विद्यालयले आइतबार एक समारोहका बीच उनीहरूलाई सम्मान गरेको हो । एसईई परिक्षामा विद्यालयले शतप्रतिशत नतिजा ल्याएपछि २५ जना विद्यार्थी र उनीहरूका अभिभावक, विषयगत ९ जना शिक्षकलाई फुलमाला, टीका, मायाको चिनो स्वरूप डायरी प्रदान गरि सम्मान गरेको हो । असार १३ गते प्रकाशित परिक्षाफल अनुसार कुल २५ जना परिक्षामा सहभागी विद्यार्थी मध्य ९ जनाले ए प्लस, १० जनाले ए, ४ जनाले बि प्लस र २ जनाले बी ग्रेड ल्याएको विद्यालयका प्रिन्सिपल बसन्त बहादुर पुनले बताए । शत प्रतिशत नतिजा ल्याउन शिक्षक, अभिभावक, विद्यार्थीहरुको मेहनत रहेको प्रति विद्यालय प्रशासनले सवैमा धन्यवाद ज्ञापन गरेको छ । यस्तै स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना गरेको छ ।
त्यस्तै यस अघि कक्षा ८ को नतिजामा समेत स्कुले शतप्रतिशत नतिजा ल्याउन सफल भएको गोरखा आइडियल स्कुलका प्रिन्सिपल पुुनले बताए । गोरखा आइडियल स्कुल सञ्चालक समितिका सदस्य बालकृष्ण रोकाको अध्यक्षता एवम् गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाेल्दै घर्तीले गोर्खा ग्रुपले छोटो अवधिमै दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान दिएको बताए । सो अवसरमा गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गाबहादुर केसी, डाइरेक्टर उत्तमराज घिमिरे, डाइरेक्टर गुमान पुन, गोरखा ग्रुपका संस्थापक सदस्य भीमप्रसाद बेलबासे, प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारी, गोरखा स्कुल सञ्चालक समिति लमहीका उपाध्यक्ष डोरबहादुर जिसी, पत्रकार महेश रिजाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन विद्यालयका प्रधानाध्यापक बसन्त बहादुर पुनले गरेका थिए ।

