गोरखा मोडेल स्कुल संस्थागत तर्फ उत्कृष्ट अंक सहित लमहीमा पहिलो
भालुवाङ १६ असार । दाङ देउखुरीको लमहीमा रहेको गोरखा मोडेल माध्यमिक विद्यालय देउखुरीमै उत्कृष्ट अंक सहित लमही नगरपालिकामा पहिलो भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा ( एसईई ) मा सो विद्यालय संस्थागत विद्यालय तर्फबाट पहिलो स्थान हासिल गर्न सफल भएको छ । लमही नगरपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विवरणअनुसार गोरखा मोडेल स्कुलले ९४.४ प्रतिशत अंकसहित पालिकामा प्रथम स्थान हासिल गरेको हो । कूल १२५ जना सहभागी विद्यार्थीमध्ये ११८ जना उत्तीर्ण भएका छन् । सोही विद्यालयका मिलन खनालले ४.० जीपीए हासिल गरेका छन । उत्तीर्ण हुने विद्यार्थी उनका अभिभावक र शिक्षकलाई विद्यालयले आइतबार एक समारोहका बीच बधाई सहित सम्मान गरेको छ ।
त्यसैगरि सनलाइट मोर्डन स्कुल लमहीकी छात्रा जेसिका शर्माले ४ जिपीए, पब्लिक एजुकेसन एकेडेमी लालमटियाबाट पनि एक जना छात्राले ४ जिपीए ल्याउन सफल भएका छन । त्यस्तै, जइन्द्र इङ्लिस बोर्डिङ स्कुलले ९३.३३ प्रतिशत अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ । सो विद्यालयका ३० जना विद्यार्थी सहभागी भएकोमा २८ जना उत्तीर्ण भएका थिए । तेस्रो स्थानमा देउखुरी पब्लिक स्कुल रह्यो, जसले ९२.८६ प्रतिशत अंक प्राप्त गर्यो । सो विद्यालयबाट १४ जना परीक्षार्थी सहभागी भएकोमा १३ जना उत्तीर्ण भएका थिए । त्यसैगरी, रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले ९२.३१ प्रतिशत अंक प्राप्त गरेको छ । ६५ जना सहभागी विद्यार्थीमध्ये ६० जना उत्तीर्ण भएका छन । ज्योतिष्मती विद्यापीठले ९०.४८ प्रतिशत अंक ल्याएको छ । सो विद्यालयबाट ४२ जना सहभागी भएका थिए, जसमा ३८ जना उत्तीर्ण भएका छन ।
सनलाइट मोर्डन सेकेन्डरी स्कुलले ८७.५ प्रतिशत अंक प्राप्त गरेको छ । परीक्षामा ५६ जना सहभागी भएपनि ४९ जना मात्र उत्तीर्ण भएका छन ।लमही नगरपालिका–८ मा रहेको राप्ती ग्यालेक्सी बोर्डिङ स्कुलले ६५.३८ प्रतिशत अंक प्राप्त गरेको छ । सो विद्यालयबाट २६ जना सहभागी भएकामा १७ जना मात्र उत्तीर्ण भएका छन । स्कुल अफ स्टीम एजुकेशनले ५३.८५ प्रतिशत अंकसहित सबैभन्दा कम सफलता दर देखाएको छ । सो विद्यालयका १३ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ७ जना मात्र उत्तीर्ण भएका छन ।

