राप्तीमा धान दिवस : जनप्रतिनिधि, शिक्षक, कर्मचारी, पत्रकार देखि विद्यार्थीले गरे धान रोपाई
भालुवाङ १५ असार । दाङको राप्ती गाउँपालिकामा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, पत्रकार देखि विद्यार्थीले सामुहिक धान रोपाई गरेका छन् ।
राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा सर्वोदय मावि सिसहनियाँको आयोजना एवम् राप्ती प्रेस मञ्चको सहकार्यमा सर्वोदय माविको करिव १ विगाहा क्षेत्रफलमा सामूहिक रूपमा धान रोपाई गरिएको छ । २२ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवका अवसरमा सामुहिक धान रोपाइँ गरिएको छ । “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको वडा नम्बर ७ बड्का सिसहनियाँमा रहेको करिब १ बिघा खेतमा धान रोपेर मनाइएको हो । राप्ती गाउँपालिकाले प्रत्येक वर्ष कृषकहरूको खेतमै पुगेर यस दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ । गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वर्षाती गडरियाले यस पटक पनि कृषक र विद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रवद्र्धन गर्दै धान दिवसको महत्व उजागर गर्न यस्ता आयोजनाले टेवा पुग्ने धारणा व्यक्त गरे । त्यसैगरी वडा नम्बर ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीले विद्यार्थीलाई खेतीपातीप्रति रुचि जगाउन विद्यालय स्तरमै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष पहलमान चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, लेखापाल रेशमराज अधिकारी, कृषि शाखा प्रमुख वर्षाती गडरिया, राप्ती केरा उत्पादक कृषक समूहका अध्यक्ष रणप्रसाद सुवेदी लगायत गाउँपालिकाका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसै बीच अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले विद्यार्थीहरूको सदन विभाजन गरी सदनात्मक धान रोपाइँ कार्यक्रम समेत सम्पन्न गरेको छ ।

यस्तै राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालय र वडा नम्बर १ भालुवाङ स्थित लिटिल एन्जल स्कुलका विद्यार्थीहरूले असार १५ को अवसर पारेर दुर्गा भवानी आधारभूत विद्यालय मसुरियाको करिब पाँच कठ्ठा खेतमा सामूहिक रूपमा धान रोपेका हुन् । धान रोपाइँ कार्यक्रममा राप्ती गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विक, दुर्गा भवानी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारी, विद्यालयका प्रधानाध्यापक केशवराज आचार्य, लिटिल एन्जल स्कुलका प्रिन्सिपल शोभाखर भुसाल लगायत अन्य शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
शाखा प्रमुख विश्वास विकले शिक्षालाई व्यवहारमै उपयोगी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिनु राम्रो कुरा भएको बताए । “विद्यार्थीहरूलाई कृषिको ज्ञान दिन, श्रमको मूल्य बुझाउन र माटोसँग जोड्न यस्ता कार्यक्रमहरू आवश्यक छन्,” उनले भने । प्रधानाध्यापक केशवराज आचार्यले विद्यालय परिसरमै उत्पादन गरिएको धान विद्यालयमा दिवा खाजाका लागि प्रयोग गरिने जानकारी दिए । “विद्यार्थीहरूले आफैँ रोपेको धानको भात खान पाउनु उनीहरूको मनोवैज्ञानिक विकासका लागि पनि सकारात्मक हुन्छ,” उनले उल्लेख गरे । लिटिल एन्जल स्कुलका प्रिन्सिपल शोभाखर भुसालले कृषि प्रतिको आकर्षण बढाउन विद्यार्थीहरूलाई व्यवहारिक अनुभव दिन आवश्यक रहेको धारणा व्यक्त गरे । “शहरमुखी शिक्षा प्रणालीले गाउँ र खेतीपाती बिर्साउने खतरा बढेको छ,” उनले भने, “यसलाई सन्तुलनमा राख्न यस्ता अभ्यासहरू फलदायी हुन्छन् ।”

धान रोपाइँमा सहभागी भएका विद्यार्थीहरूले हिलो माटोमा खेती गर्ने अनुभव बटुलेका थिए । कतिपयले यो क्षणलाई रमाइलो अनुभवको रूपमा लिएको बताएका थिए भने केहीले आफूले रोपेको बिउको फल आफैं खान पाउने अवसर विशेष लागेको बताएका थिए । विद्यार्थीका अभिभावकहरूले बालबालिकाको यस्तो व्यवहारिक सिप अभ्यासप्रति खुसी व्यक्त गरेका छन् । उनीहरूले गुणस्तरीय र जीवन उपयोगी शिक्षाको अभ्यास सुरु भएको भन्दै विद्यालय तथा पालिकाको प्रयासको प्रशंसा गरेका थिए । राप्ती गाउँपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रलाई व्यवहारिकता, कृषि र स्थानीय सिपसँग जोड्ने नीति लिएको छ। यस्तो अभ्यासले विद्यार्थीहरूमा कृषिप्रति समझदारी, श्रम संस्कार र आत्मनिर्भरताको भावना विकास गर्न सहयोग र्पुयाउने विश्वास व्यक्त गरिएको छ।

