देउखुरीको राप्तीमा पनि राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईयो (फाेटाे फिचर सहित)



देउखुरीको राप्तीमा पनि राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईयो (फाेटाे फिचर सहित)

देउखुरी १५ असार । दाङ-देउखुरीको राप्ती गाउँपालिकामा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आइतबार उत्साहपूर्वक सम्पन्न गरिएको छ । “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ महोत्सव सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको वडा नं. ७ बड्का सिसहनियाँमा रहेको करिब एक बिघा खेतमा धान रोपेर मनाइएको हो ।

राप्ती गाउँपालिका कृषि शाखाको आर्थिक सहयोग तथा राप्ती प्रेस मञ्चको सहकार्य एवम् सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको आयोजनामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो । राप्ती गाउँपालिकाले विभिन्न संघसंस्थाहरू संगको सहकार्यमम प्रत्येक वर्ष झैँ यस बर्ष पनि कृषकहरूको खेतमै पुगेर यस दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ ।

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वर्षाती गडरियाले यस पटक पनि कृषक र विद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रवद्र्धन गर्दै धान दिवसको महत्व उजागर गर्न यस्ता आयोजनाले टेवा पुग्ने धारणा व्यक्त गरे ।

त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीले विद्यार्थीलाई खेतीपातीप्रति रुचि जगाउन विद्यालयस्तरमै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । यस्तै राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले राष्ट्रिय धान दिवसले किसानहरूमा उत्साह थपेको बताए । उनले पछिल्लो समय धान दिवस सबैको प्राथामिकता भित्र पर्दा यसको महत्त्व बढ्दै गएको बताए ।

महोत्सवमा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष तथा प्रबक्ता पहलमान चौधरी, वडा नं. ७ का वडाध्यक्ष सिताराम चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, लेखापाल रेशमराज अधिकारी, कृषि शाखा प्रमुख वर्षाती गडरिया र राप्ती केरा उत्पादक कृषक समूहका अध्यक्ष रणप्रसाद सुवेदी लगायत गाउँपालिकाका कर्मचारी, पत्रकारहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसैबीच अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले विद्यार्थीहरूको सदन विभाजन गरी सदनात्मक धान रोपाइँ कार्यक्रम अगाडि बढाईएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे