राप्तीमा विद्यार्थीद्धारा सामूहिक धान रोपाई, शिक्षा सँगै व्यवहारिक सिपको अभ्यास सिक्दै
देउखुरी १५ असार । दाङ–देउखुरीको राप्ती गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीहरूले सामूहिक रूपमा धान रोपेका छन्। शिक्षा र व्यवहारिक सिपलाई जोड्दै कृषि सिकाइको अभ्यास गराउने उद्देश्यले गरिएको रोपाइँ कार्यक्रममा विद्यार्थीहरू उत्साहका साथ सहभागी भएका थिए ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालय र वडा नम्बर १ भालुवाङस्थित लिटिल एन्जल स्कुलका विद्यार्थीहरूले असार १५ को अवसर पारेर दुर्गा भवानी आधारभूत विद्यालय मसुरियाको करिब पाँच कठ्ठा खेतमा सामूहिक रूपमा धान रोपेका हुन् ।

धान रोपाइँ कार्यक्रममा राप्ती गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विक, दुर्गा भवानी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारी, विद्यालयका प्रधानाध्यापक केशवराज आचार्य, लिटिल एन्जल स्कुलका प्रिन्सिपल शोभाखर भुसाल लगायत अन्य शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
शाखा प्रमुख विश्वास विकले शिक्षालाई व्यवहारमै उपयोगी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिनु राम्रो कुरा भएको बताए । “विद्यार्थीहरूलाई कृषिको ज्ञान दिन, श्रमको मूल्य बुझाउन र माटोसँग जोड्न यस्ता कार्यक्रमहरू आवश्यक छन्,” उनले भने ।
प्रधानाध्यापक केशवराज आचार्यले विद्यालय परिसरमै उत्पादन गरिएको धान विद्यालयमा दिवा खाजाका लागि प्रयोग गरिने जानकारी दिए । “विद्यार्थीहरूले आफैँ रोपेको धानको भात खान पाउनु उनीहरूको मनोवैज्ञानिक विकासका लागि पनि सकारात्मक हुन्छ,” उनले उल्लेख गरे ।

यस्तै लिटिल एन्जल स्कुलका प्रिन्सिपल शोभाखर भुसालले कृषिप्रतिको आकर्षण बढाउन विद्यार्थीहरूलाई व्यवहारिक अनुभव दिन आवश्यक रहेको धारणा व्यक्त गरे । “शहरमुखी शिक्षा प्रणालीले गाउँ र खेतीपाती बिर्साउने खतरा बढेको छ,” उनले भने, “यसलाई सन्तुलनमा राख्न यस्ता अभ्यासहरू फलदायी हुन्छन् ।”
धान रोपाइँमा सहभागी भएका विद्यार्थीहरूले हिलो माटोमा खेती गर्ने अनुभव बटुलेका थिए । कतिपयले यो क्षणलाई रमाइलो अनुभवको रूपमा लिएको बताएका थिए भने केहीले आफूले रोपेको बिउको फल आफैं खान पाउने अवसर विशेष लागेको बताएका थिए ।
विद्यार्थीका अभिभावकहरूले बालबालिकाको यस्तो व्यवहारिक सिप अभ्यासप्रति खुसी व्यक्त गरेका छन् । उनीहरूले गुणस्तरीय र जीवन उपयोगी शिक्षाको अभ्यास सुरु भएको भन्दै विद्यालय तथा पालिकाको प्रयासको प्रशंसा गरेका थिए ।

राप्ती गाउँपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रलाई व्यवहारिकता, कृषि र स्थानीय सिपसँग जोड्ने नीति लिएको छ । यस्तो अभ्यासले विद्यार्थीहरूमा कृषिप्रति समझदारी, श्रम संस्कार र आत्मनिर्भरताको भावना विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ ।



