लमहीको सरकारी गाडी प्रकरण : चालक र नगर प्रहरी निलम्बन, अझै आएन बास्तबिक तथ्य

देउखुरी १० असार । दाङको लमही नगरपालिकाको सरकारी गाडी दुर्घटना भएको एक महिना बिति सक्दा समेत घटनाको बास्तविक तथ्य बाहिर आउन सकेको छैन । गत जेष्ठ ९ गते मध्यरातमा घोराहीबाट लमही तर्फ फर्किदै गर्दा मुसोटको ओरालोमा दुर्घटना भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने बा २ झ ४२०१ नम्बरको कार घोराही उप–महानगरपालिका–३, मुसोटको ओरालोमा दुर्घटना भएको थियो ।
वर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा कामको शिलशिलामा केहिदिन पहिले काठमाडौं गएको बेला उक्त गाडी दुर्घटना भएको थियो । दुर्घटना भएको एक महिना बिति सक्दा समेत न त प्रहरीले नै बास्तविक तथ्य बाहिर ल्याएको छ, न त नगरपालिकाले नै । जसले गर्दा नगरपालिकाको सरकारी गाडी दुर्घटनाको बिषय थप रहस्य मै बनेको छ । दुर्घटना भएको ५ दिनपछि अर्थात जेष्ठ १३ गते नगरपालिकाले घटनाको बिषयमा बिज्ञप्ती मार्फत जानकारी समेत गराएको थियो । तर उक्त विज्ञप्ती चित्तबुझ्दो नभएको भन्दै सामाजिक सञ्जालमा कडा आलोचना समेत भएको थियो ।
यता लमही नगरपालिकाले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै उक्त गाडी चालक र सवार एक नगर प्रहरीलाई निलम्बन गरेको छ । गत जेष्ठ २७ गते बसेको नगर कार्यपालिकाको १६० औँ बैठकले पालिकाले गरेको प्रारम्भिक अध्ययन र चालक तथा नगर प्रहरीले समेत दिएको स्पष्टिकरणको आधारमा कार चालक लमही नगरपालिका–५, बस्ने बर्ष ४२ का मधुसुदन केसीलाई तीन सम्मका लागि र राजपुर गाउँपालिका–५, चुङ्गुवा बस्ने बर्ष २७ का नगर प्रहरी मंगलसिंह भण्डारीलाई एक महिना सम्मका लागि निलम्बन गरिएको नगरपालिकाका प्रबक्ता तथा ७ नम्बर वडा अध्यक्ष मोहन गिरीले जानकारी दिए ।
नगरपालिकाले गरेको प्रराम्भिक अध्ययन र चालक तथा नगर प्रहरीले दिएको बयानको आधारमा अहिलेलाई निलम्बन मात्र गरिएको नगर प्रबक्ता गिरीले बताए । दुर्घटनाको बिषयमा थप अनुसन्धान जारी रहेकोले अहिले सम्म दुर्घटनाको बास्तविक कारण भने खुल्न नसकेको प्रबक्ता गिरीको भनाई छ । उनका अनुसार नगरपालिकाले उक्त दुर्घटनाको बिषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङलाई पत्रचार गरिएको भएपनि अहिले सम्म अनुसन्धानको तथ्य प्राप्त नभएको बताए । नगरपालिकाले गत जेष्ठ ११ गते उक्त सवारी दुर्घटना के कसरी भएको हो ? उक्त घटनामा संलग्न व्यक्तिहरु माथि छानबिन गरी यर्थाथ अनुसन्धान गरिदिनु हुन भनि पत्रचार समेत गरेको थियो ।
नगरपालिकाको सरकारी गाडी दुर्घटना भएको एक महिना बिति सक्दा समेत दाङ प्रहरीले अहिले सम्म दुर्घटनाको बास्तविक तथ्य न त नगरपालिकालाई दिएको छ, न त सार्वजनिक नै गरेको छ । जसले गर्दा दुर्घटनाको बिषय थप रहस्यमा बनेको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनालाई बुझ्दा यस बिषयमा ईलाका प्रहरी कार्यालय लमहीमा बुझ्नुस् भन्दै पन्छिन खोजे । नगरपालिकाले त जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धान गर्न भनेर पत्रचार समेत गरेको छ त ? भन्ने प्रश्नमा आफू अहिले उक्त बिषयमा जानकारी लिन नपाएको भन्दै बुझेर मात्र जानकारी गराउने भन्दै गैर जिम्मेवार जवाफ दिएर तर्किए ।
यस्तै यता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल संग बुझ्दा उनले मानबीय क्षति नभएकोले यो खासै महत्वपूर्ण बिषय नभएको भन्दै पन्छिन खोज्नु भएको थियो । उहाँले उल्टै एउटा सिडियोले सरकारी गाडी हेर्ने की ? जनताको काम गर्ने ? भन्दै टेलिफोन काटेका थिए । त्यसको केही मिनेट मै फेरि आफै टेलिफोन गरेर आफू यो बिषयमा गम्भीर रहेको र केही दिन मै सत्यतथ्य कुरा बाहिर ल्याउने बताए ।
चालक भन्छन् : पूर्व प्रमुृख प्रशासकीय अधिकृत डाँगीलाई छोडेर फर्किदा दुर्घटना भयो
उक्त गाडीका चालक मधुसुदन केसीले नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई दाङको नारायणपुर छोडेर फर्किदा दुर्घटना भएको बताएका छन् । दुर्घटनाका बिषयमा नगरपालिकाले जेष्ठ २० गते लिखित रुपमा मागेको स्पष्टिकरणमा चालक केसीले यस्तो स्पष्टिकरण दिएको लमही नगरपालिकाका प्रबक्ता मोहन गिरीले बताए ।
चालक केसीले नगरपालिकालाई दिएको स्पष्टिकरण अनुसार “चालक केसी उक्त दिन दिनभरीको कामकाजको थकानको कारण साँझ करिब ९ बजेतिरको समयमा घरमा आराम गरिरहेको अवस्थामा लमही नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले लमहीबाट घोराही जाने क्रममा आफ्नो गाडी बीच बाटोमै विग्रिएको हुँदा घोराही सम्म छोड्न बोलाएको र आफू लमही नगर विकासको कार्यालयमा राखिएको लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रयोग गर्ने सरकारी गाडी (बा २ ज ४२०१ को कार चालक मं मधुसुदन केसीले लिएर गएको हुँ,” लिखित स्पष्टिकरणमा उल्लेख गरिएको प्रबक्ता गिरीले बताए ।
चालक केसीले दिएको स्पष्टिकरणमा लेखिएको छ, “मैले सहयोगको लागि लमही नगरपालिकाको कार्यालयमा कुरा गर्नुभएको होला सोची कोही कसै सँग नसोधी सो सरकारी गाडीमा नगर प्रहरी जवान मंगलसिंह भण्डारीलाई लिएर गएको, लमही–घोराही अन्तर्गत पर्ने बेलदमार भन्ने ठाउँमा पूर्व प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सरले हाल प्रयोग गर्दै आएको गाडी विग्रिएको अवस्थामा रहेको र केही समयपछि गाडी मर्मत भै सञ्चालनमा आएको र बीच बाटोमा केही समस्या होला भनी सँगै जाउ भन्नुभयो ।
त्यसपछि म पनि गाडी लिएर सगै गएकोमा घोराही स्थित नारायणपुर सम्म पुग्दा उहाँको गाडी अगाडि रहेको त्यसपछि उहाँलाई फोन गरी सोध्दा म घर पुगीहाल्छु तपाईहरु त्यहीबाट फर्कनु भनेपछि हामी सो स्थानबाट क्रममा राती करिब ११.०० बजेको समयमा घोराही—लमही सडक अन्तर्गत पर्ने मसोटमा विपरित दिशाबाट आएको पिकअप भ्यान रोकेर रहेको र सो भ्यानमा सवार ३ जना व्यक्ति बाटोमा रहेको र सो व्यक्तिहरूलाई बचाउन खोज्दा गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घट्ना मेरो कुनै नियतवस भएको हैन । रातीको समयमा आफूले काम गर्ने कार्यालयको पूर्व कार्यालय प्रमुखलाई उद्धार/सहयोग गर्ने मनासयले गाडी चलाउँदा चलाउदै दुर्घटना हुन पुगेको व्यहोरा सहित यो स्पष्टिकरण पेश गरेको छु ।” चालक केसीले लिखित रुपमा आफूहरुलाई स्पष्टिकरण दिएको प्रबक्ता गिरीको भनाई छ ।
के भन्छन् त ? निलम्बित नगर प्रहरी भण्डारी
यता उक्त सरकारी गाडीमा सवार नगर प्रहरी मंगलसिंह भण्डारीले उक्त गाडी प्रयोग र दुर्घटनामा आफ्नो कुनै प्रकारको संलग्न नरहेको बताएका छन् । दुर्घटनाका बिषयमा नगरपालिकाले जेष्ठ २० गते लिखित रुपमा मागेको स्पष्टिकरणमा नगर प्रहरी भण्डारीले यस्तो बयान दिनु भएको लमही नगरपालिकाका प्रबक्ता मोहन गिरीले जानकारी दिए ।
नगर प्रहरी भण्डारीले नगरपालिकालाई दिएको स्पष्टिकरण अनुसार “आफ्नो डियुटी सकाएर बसिरहेको बेला सवारी चालक मधुसुदन केसीले एकछिन काम छ, जाउँ भनेर लग्नु भएको हो । डियुटीको समयमा पहिले पनि कार्यालयको कामकाजका लागि उहाँले हामी नगर प्रहरीलाई लग्नु हुन्थ्यो, र त्यहाँको गाडीमा मात्र नभई कार्यालयको कामकाज परेको बेला अरु गाडीमा पनि गइन्थ्यो, जहिले पनि केही काममा लग्दा सवारी चालकले कार्यालयमा जानकारी गराएरै लग्नु हुन्थ्यो । त्यो दिन पनि मलाई लाग्यो सँधै जस्तै आज पनि जानकारी गराउनु भएकै होला ।
सोही कारणले अनि कार्यालयको केही कामकाज नै हुन् सक्छ भन्ने एउटा कर्मचारीको नाताले म त्यो दिन गाडीमा गएको हुँ । कार्यालयका कार्यकारीको सवारी साधान चालक मधुसुदनले कार्यालयमा जानकारी गराउनु भएको होला भन्ने विश्वासले गर्दा मैले पनि कसैलाई सोधेन । पहिले देखि नै कार्यकारीको सवारी साधन चलाउने चालक कार्यालयको काम कै लागि राख्नु भएको होला भन्ने लागेर त्यो दिन गाडीमा गएको हो । गाडी बेलदमारमा पुग्दा त्यहाँ पूर्व कार्यकारी श्री गेहेन्द्रबहादुर डाँगी ज्यूको गाडी बिग्रिरहे कै अवस्थामा उभिरहेको थियो । अनि हामी त्यहाँ पुगेर गाडी स्टार्ट गर्दा मज्जाले स्टाट पनि भयो । अनि उहाँले भन्नु भयो, गाडी जस्तो चीज अगाडी बाटोमा गएर फेरी बिग्रियो भने समस्या हुन्छ । जंगलको बाटो छ ।
सरको त्यो कुरा काट्न नसकेर हुन्छ त, बजारसम्म छोडेर आउला भन्ने उद्देश्यले सवारी चालक केसीले घोराहीको नारायणपुर सम्म गाडी लग्नु भएको हो । त्यहाँ पुगेपछि पूर्व कार्यकारी डाँगी सरलाई फोन गर्दा डाँगी सर ले हुन्छ त,. फर्किनुहोस, भन्नुभयो । हामी त्यहाँबाट र्फेकेका हौँ । त्यहाँबाट फर्कने क्रममा धोराही– लमही सडक खण्डको मुसोटमा एउटा पिकप सडकको बीचको लाइन मेची हामी आउने बाटोमा हलुका च्यापिएर उभिरहेको र उक्त पिकपको पछाडी ३ जना मान्छे उभिएको हुनाले ती मान्छेहरुलाई बचाउने र साइतबाट गाडी काटने क्रममा अचानक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । मेले आफ्नो आखाले देखेको । भोगेका सत्य तथ्य घटना यस स्पष्टीकरण मार्फत जानकारी गराउँदछु ।” भण्डारीले लिखित रुपमा आफूहरुलाई स्पष्टिकरण दिएको प्रबक्ता गिरीको भनाई छ ।
लमही नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी हाल अछामकाे मंगलसेन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका छन् । उनी लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहँदा निकै बिबादित समेत बनेका थिए । कुलबहादुर केसी मेयर रहेको बेला डाँगी लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेका थिए । त्यति बेला प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई कार्यालयमा हाजिरी गराउन दिन नहुने भन्दै अधिकांश वडा अध्यक्षहरु नगरपालिकाको कार्यालय परिसरमा धर्ना समेत बसेका थिए ।
लमही नगरपालिकाको सरकारी गाडी मध्यराती भएको दुर्घटनाको बिषयमा स्थानीय राजनितिक दलहरु सहित नागरिकहरुले समेत गम्भीर चासो व्यक्त गरेका छन् । घटना भएको केही दिनमै उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कानुनी कार्वाहीको माग गर्दै राजनितिक दल र स्थानीय नागरिकहरुले तत्काल छानबिन गरी दोषी उपर कानुनी कार्वाहीको माग गरेका थिए । नेकपा एमाले लमही नगर कमिटी भने विज्ञप्ती नै जारी गरी उक्त घटनाको छानबिन गरी सत्यतथ्य कुरा सार्वजनिक गर्न र दोषी उपर कानुनी कावार्हको माग गरेको थियो ।