राप्तीको नीति तथा कार्यक्रम सर्वसम्मत पारित : आज बेलुका ५ बजे बजेट आउँदै



राप्तीको नीति तथा कार्यक्रम सर्वसम्मत पारित : आज बेलुका ५ बजे बजेट आउँदै

भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

दोस्रो गाउँसभाको सातौं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रका केही बुँदाहरू संशोधन सहित मंगलबार सर्वसम्मतले पारित भएको हो । अध्यक्ष विष्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयहरूको शिक्षा गुणस्तर तथा पहुँच अभिवृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिलाई थप जवाफदेही र जिम्मेवार बनाई संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकाबाट प्रदान हुँदै आएको शिक्षक अनुदान रकमलाई क्रमशः घटाउँदै लैजाने, गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूको अवस्थाको विश्लेषण गरी विद्यालय मर्जर(गाभ्ने)को नीति अवलम्बन गर्ने बुँदाहरू संशोधनसहित पारित गरिएको पालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलमान चौधरीले जानकारी दिए । त्यसै सभाले आर्थिक वर्ष २०८१/८२ मा हालसम्म भएका कार्यपालिका बैठकका निर्णयहरू समेत अनुमोदन गरेको छ ।

गाउँपालिकाले असार ६ गते शिक्षा, स्वास्थ्य, कृषि र उद्यम विकासलाई विशेष प्राथमिकता दिदै पालिकालाई समावेशी, दिगो र समृद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले असार ७ गते दोस्रो गाउँसभाको साताैं अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतामा जोड दिंदै २० पृष्ठको लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नीति तथा कार्यक्रम उपर छलफलका लागि सभाका सदस्यहरुले थप १ दिनका लागि समय मागे पछि असार ९ गतेका लागि बैठक स्थगित गरिएको थियो । असार ९ गते पनि दफाबर छलफल भएपनि नीति तथा कार्यक्रम पारित हुन सकेन र आज दिउँसो मात्र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको अध्यक्ष विष्टले बताएका छन् । यसै बीच गाउँपालिकाले आज बेलुका ५ बजे बजेट ल्याउन लागेको छ । स्थानीय सरकारले असार १० गते भित्र बजेट सभामा पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार राप्तीले बजेट ल्याउन  लागेको हो । आगामी आर्थिक वर्ष २०८२/०८३  का लागि राप्ती गाउँपालिकाले ६३ करोड ६१ लाखको हाराहारीमा बजेट ल्याउन लागेको अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

यद्यपि गत वर्षको भन्दा यस वर्ष बजेट कम आउने उनले बताए । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६८ करोड ५९ लाख ७४ हजार रूपैयाँ बराबरको बजेट सभामा पेश गरिएको थियो ।  यस वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र उद्यम विकासलाई प्राथमिकता दिएको अध्यक्ष विष्टले बताए ।सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार दाङका सबै पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

दाङमा २ वटा उपमहानगरपालिका, १ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । १० मध्य ९ वटा पालिकाले यस अघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि बङ्गलाचुली गाउँपालिकामा नीति तथा कार्यक्रम र बजेट सँगै ल्याउने तयारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे