पब्लिक क्याम्पस चलाउन संघिय शिक्षा ऐन बाधक बन्यो : मुख्यमन्त्री आचार्य



पब्लिक क्याम्पस चलाउन संघिय शिक्षा ऐन बाधक बन्यो : मुख्यमन्त्री आचार्य

भालुवाङ ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उच्च शिक्षा क्षेत्रको सुदृढीकरणका लागि नीतिगत, संरचनात्मक र व्यवहारिक सुधारमा प्रदेश सरकार सक्रिय रहेको बताएका छन् ।

शनिबार दाङको देउखुरी स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल लुम्बिनी प्रदेश समितिकोे प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार र पब्लिक क्याम्पसबीच सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् । प्रदेश सरकारले पब्लिक क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका लागि निरन्तर ध्यान दिँदै आएको छ । अब नीतिगत सुधार गरेर समस्याहरू सम्बोधन गर्नेतर्फ गम्भीर छौँ, मुख्यमन्त्री आचार्यले भने, प्रदेश सरकारले अनुदानको रूपमा पब्लिक क्याम्पसलाई सहयोग गर्न खोजेको हो । तर कानुनी अड्चनहरू छन् । सुधार गरेर अगाडि बढ्न सकिन्छ ।

सामुदायिक क्याम्पसहरू आधारभूत तहका नागरिकका छोराछोरीलाई उच्च शिक्षामा लैजाने प्रमुख माध्यम भएकोमा खुसी व्यक्त गर्दै उनले नियमित सहयोगका लागि कानुनी अड्चन हटाउनु आवश्यक रहेको बताए । मुख्यमन्त्री आचार्यले पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने माग निरन्तर संघीय सरकारसमक्ष राखिँदै आएको जानकारी पनि गराए । हामीले बारम्बार संघीय सरकारसँग भनिरहेका छौँ । पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारलाई दिइयोस्, उनले भने, एक हिसाबले हेर्दा माध्यमिक शिक्षा ९ कक्षा १२० सम्म हामीले लगानी गरेका छौँ । तर कानुनले हामीलाई चिनेको छैन । कक्षा १२ सम्मको जिम्मा स्थानीय तहलाई दिइएको छ । सम्पूर्ण उच्च शिक्षाको जिम्मा संघीय सरकार सँग छ । यस्तो अवस्थामै पनि हामीले आफ्नो धर्म निर्वाह गर्दै आएका छौँ ।

शिक्षा क्षेत्रको विकासबिना समृद्ध लुम्बिनी प्रदेशको सपना पूरा हुन नसक्ने आत्मबोधका साथ सरकारले नीति निर्माण गरिरहेको मुख्यमन्त्री आचार्यको भनाइ थियो । कानुनमा रहेको अस्पष्टता हटाइनु जरुरी छ । कक्षा १२ सम्मको जिम्मेवारी स्थानीय तहले लियो भने सामुदायिक क्याम्पसको जिम्मेवारी हामी लिन तयार छौँ, उनले भने, हामी यो विषयमा निरन्तर छलफल गरिरहेका छौँ । सामुदायिक क्याम्पसलाई बेवारिसे बनाउने हाम्रो उद्देश्य होइन । मुख्यमन्त्री आचार्यले शिक्षा ऐन आउँदा स्थिति अझ स्पष्ट हुने विश्वास व्यक्त गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्रमा अधिकार खोजिरहेको बताए । अहिले प्रदेश सरकार अधिकार विहीन जस्तै अवस्थामा छ । तर यदि हामीलाई पब्लिक क्याम्पस सञ्चालनको जिम्मेवारी दिइयो भने त्यो जिम्मेवारी हामी पूरा गर्न तयार छौँ, उनले स्पष्ट पार्दै भने, तलका विद्यालय स्थानीय तहले सञ्चालन गरून् । विश्वविद्यालय र आङ्गिक क्याम्पसको जिम्मेवारी संघीय सरकारले लिनुहोस् । तर पब्लिक क्याम्पस चलाउने जिम्मा प्रदेश सरकारलाई दिइयोस् ।

मुख्यमन्त्री आचार्यले सामुदायिक क्याम्पसको दिगो भविष्य र शैक्षिक गुणस्तर सुधारका लागि मर्जर गाभ्ने नीति आवश्यक रहेको पनि औँल्याए । उनको भनाइमा, पब्लिक क्याम्पसहरू समावेशी, गुणस्तरीय र दिगो उच्च शिक्षाको आधारस्तम्भ हुन् । नेपालमा उच्च शिक्षा सर्वसुलभ बनाउने कार्यमा सामुदायिक क्याम्पसले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । पब्लिक क्याम्पसहरूले ग्रामीण क्षेत्रमा उच्च शिक्षाको ज्योति पु¥याएका छन् । देशभरका लाखौं युवालाई शिक्षित बनाउन र्पुयाएको योगदान उल्लेखनीय छ, मुख्यमन्त्री आचार्यले भने । पब्लिक क्याम्पस प्राध्यापक संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष युवराज रावतको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा भेलाको उद्घाटन भएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीना, संविधान सभा सदस्य रेश्मीराज नेपाली, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका संस्थापक अध्यक्ष गोपाल प्रसाद पाण्डे, नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष कृष्ण खनाल, पब्लिक क्याम्पस संघ नेपालका केन्द्रिय अध्यक्ष शत्रुधन प्रसाद गुप्ता, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका लुम्बिनी प्रदेश इन्चार्ज माया घिमिरे, प्राध्यापक संघ नेपालका केन्द्रिय अध्यक्ष डा. नरेन्द्र प्रसाद कोइराला, पब्लिक क्याम्पस प्राध्यापक संघ देउखुरी बहुमुखी क्याम्पस इकाई समिति सभापति शेषमणी गौतम, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका अध्यक्ष केशवराज खनाल, क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली लगायतका वक्ताहरुले आ–आफ्ना भनाई राखेका थिए ।

भेलामा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै भेलामा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका लुम्बिनी प्रदेशका सचिव रोम शर्माले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । संघकै सह–संयोजक खिमराज घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सचिव चिव रोम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे