बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यकाे उपचार सुरू



काठमाण्डाै ३ फागुन । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।

पोखरा सभागृहमा दिउँसो रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको झिल्कोले समातेको थियो । आगोको झिल्कोले समात्नेबित्तिकै अर्थमन्त्री पौडेल र मेयर आचार्यको हातमा रहेका दुवै बेलुन पड्किएका थिए । त्यसबाट निस्केको आगोको ज्वालाले जलेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका हुन् । पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई थप उपचारका लागि काठमाण्डाै रिफर गरेका हुन् । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा जलेको छ । त्यस्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि उनलाई काठमाण्डाै रिफर गरिएको हो । उनको अनुहार र गाला जलेको छ ।

पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डाै लगिएको हो । दुवैको कीर्तिपुरमा रहेकाे बर्न अस्पतालमा उपचार भइरहेको छ । पोखरामा २० लाख जना पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा गरिएको हो । गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो । भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे