तीन प्रदेशका विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन राप्ती उपत्यका देउखुरीमा शुरु
देउखुरी २ असार । तीन प्रदेशका बिशेषअधिकार समितीको राष्ट्रिय सम्मेलन आज सोमबार देखि राप्ती उपत्यका देउखुरीको लुम्बिनी सभाहलमा शुरु भएको छ । लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा शुरु भएको सम्मेलनमा बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको उपस्थीति रहेको छ ।
यसैबीच सम्मेलनको उद्धाटन गदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाका विशेषाधिकार समितिहरूबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले यो सम्मेलन संघीयता मजबुत बनाउने कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । प्रदेशहरू स्वायत्त र सक्षम रहेको उल्लेख गर्दै उहाँले अन्तरसंवाद र अनुभव आदानप्रदानबाट रहेका कमी कमजोरीहरू हटाउन सहयोग पुग्ने बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार जनताको साथी र सारथीका रूपमा स्थापित भएको बताउदै प्रदेशहरूले सीमित स्रोत साधनका बीच पनि उल्लेखनीय प्रतिफल दिएको बताए । प्रदेश सरकारले चालु खर्चको तुलनामा दोब्बर पूँजीगत खर्च गर्दै विकास निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै संघीयताविरुद्ध फैलाइएका भ्रम र अफवाहलाई तथ्यका आधारमा खण्डन गर्न विशेषाधिकार समितिहरू सफल हुने अपेक्षा व्यक्त गरे ।
उनले संघीयतामाथि विभिन्न कोणबाट चुनौती र षड्यन्त्र हुने गरेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाको संस्थागत सुदृढीकरणका लागि प्रदेश सभाहरूको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा थप प्रभावकारी परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा अन्य प्रदेश गौरवका आयोजनाहरू सफलतापूर्वक अघि बढिरहेको उनले बताए । प्रदेश सरकारका मन्त्रालयको संख्या १२ बाट ८ मा झारेर प्रशासनिक खर्च नियन्त्रण र कार्यसम्पादनमा सुधार ल्याउनेगरी कामहरु अघि बढेको पनि उहाँले जानकारी दिए ।
विशेषाधिकार समिति लुम्बिनी प्रदेश सभाका सभापति गिरधारीलाल न्यौपानेले प्रस्तुत गर्नुभएको अवधारणा पत्रमा प्रदेश सभाको गरिमा, स्वतन्त्रता, प्रभावकारिता र उत्तरदायित्वलाई सुदृढ बनाउन विशेषाधिकार समितिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको थियो । समितिहरूबीच संस्थागत समन्वय अभिवृद्धि गर्ने, संसदीय विशेषाधिकार सम्बन्धी अभ्यासको समीक्षा गर्ने, साझा मापदण्ड विकास गर्ने तथा अन्तरसंसदीय सहकार्य विस्तार गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिइयो ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले संघीयता सफल बनाउन प्रदेश संरचनालाई थप बलियो बनाउनुपर्ने बताए । लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी, संविधान सभा सदस्य खिमलाल देवकोटा, बागमती प्रदेश विशेषाधिकार समितिकी सभापति मायाँदेवी शर्मा तथा सुदूरपश्चिम प्रदेश विशेषाधिकार समितिका सभापति तुलसी देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
विशेषाधिकार समितिका सदस्य अम्बिका काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सदस्य निमा गिरीले गरेकी थिइन् । सम्मेलनमा तीनै प्रदेशका विशेषाधिकार समितिका सभापति, सदस्य, प्रदेश सभा पदाधिकारी, विज्ञ तथा कर्मचारीहरूको सहभागिता रहेको छ । सम्मेलन भोली असार ३ गते सम्म चल्ने बताइएको छ ।

