भूकम्पबाट जोगिन पूर्वसतर्कता र प्रभावकारी प्रतिकार्यमा सहभागीहरूको जोड
देउखुरी ३ असार । विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी टेबल टप अभ्यास बुधबार राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना एवम् सुपरपरियोजना युनिसेफको समन्वयमा कार्यक्रम भएको हो । विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन विपद् आउनु अघि आवश्यक तयारी, विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा उपाय र विभिन्न निकाय बीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले अभ्यास गरिएको हो । कार्यक्रममा विशेषगरी भूकम्प जस्ता प्राकृतिक विपद्का समयमा नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा छलफल गरिएको थियो ।
भूकम्प आउनुअघि घर तथा भवनलाई भूकम्प प्रतिरोधी बनाउने, घरभित्रका सामान सुरक्षित रूपमा राख्ने, आपत्कालीन उद्धार सामग्री तयारी अवस्थामा राख्ने र परिवारका सदस्यहरूबीच सुरक्षित स्थान तथा सम्पर्क योजनाबारे जानकारी गराउने विषयमा जोड दिइएको थियो । भूकम्प आइहालेमा अपनाउनुपर्ने उपाय, जोखिमयुक्त संरचनाबाट टाढा रहनुपर्ने साथै भूकम्पपछि घाइतेको उद्धार, प्राथमिक उपचार, सुरक्षित आश्रय व्यवस्थापन, राहत तथा उद्वार सामाग्रीको व्यवस्थापन र क्षतिको यथार्थ मूल्याङ्कनमा सम्बन्धित निकायहरूको समन्वय आवश्यक रहेको बताइएको थियो ।
लुम्बिनी प्रदेश सरकारले पनि विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै पूर्वतयारी, जनचेतना अभिवृद्धि, उद्धार तथा राहत सामग्री व्यवस्थापन, सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वय तथा विपद् प्रतिकार्य क्षमताको विकासमा विशेष ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो । टेबल टप अभ्यासले सम्भावित भूकम्प लगायतका विपद्का घटनामा सरोकारवाला निकायहरूले आफ्नो भूमिका स्पष्ट रूपमा बुझ्ने, आवश्यक स्रोत–साधन परिचालन गर्ने तथा विपद्पछि हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्रालयका सचिव सुशीला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुतीकरण डा. सिजन मल्ल, दामोदर भण्डारी र सुपरपरियोजना युनिसेप प्रदेश संयोजक डम्बर बोहराले गरेका थिए । कार्यक्रमको सञ्चालन मन्त्रालयका विपत फोकल पर्सन भुपबहादुर मल्लले गरेका थिए ।
